
काठमाडौ- भारतीय अभिनेत्री दिव्या दत्त नेपाल आएकी छन्। शुक्रबारदेखि हुने‘काठमाडौं-कलिङ साहित्य महोत्सव’ मा सहभागी हुन उनी बिहीबार नेपाल आएकी हुन्। महोत्सव आइतबारसम्म चल्नेछ।
उनी मुम्बई इन्डिगोको विमानमार्फत बिहीबार २ : २० बजे नेपाल आइपुगेकी हुन्। उनले महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठी (सेसन)मा सहभागिता जनाउने आयोजक समितिका सदस्य तथा नाट्यकर्मी राज शाहले जानकारी दिए।
‘अभिनेत्री दत्ताले साहित्यसँगै चलचित्रको विषयमा हुने छलफलमा सहभागिता जनाउनु हुनेछ,’ उनले भने, ‘उहाँ भदौ १८ मा भारत फर्किने तालिका छ।’ अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तर्क्रिया गर्ने तालिका रहेको शाहले बताए।
साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बंगलादेश र श्रीलंकाका लेखक तथा कलाकारको सहभागिता हुनेछ। अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।