काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। सोमबार काठमाडौँमा आयोजित ‘जनप्रतिनिधिसँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘म खुला घोषणा गर्न चाहन्छु, सबै विरोधीले सुनिराखुन्। एमालेले ८४ मा एकल बहुमत ल्याउँछ।’ ओलीले भने, ‘झुक्याएर होइन, अल्मल्याएर होइन, कसैसँग मिलेर पनि होइन, लोभ र पाप बाँडेर होइन, देशको सुन्दर भविष्यको उज्ज्वल सपना र संकल्प बाँडेर अघि बढ्छौँ।’
उनले आफू मर्न नमानेर बसेको मान्छे भन्दै समृद्ध नेपाल सुखी नेपालीको उद्देश्य साकार गराएरै छाड्ने र त्यसका लागि एमालेको एकल बहुमत आवश्यक रहेको बताए।
‘म मर्न नमानेर बसेको मान्छे हुँ। दुई पटक किड्नी ट्रान्सप्लन्ट भयो। कयौं अप्रेशनहरू भए। कहिले हात सुनिएर बाँधेर हिँडेको पनि देख्नुभयो। मेनेन्जाइटिस् पनि भयो।’ गठबन्धन दलका नेताहरूलाई लक्षित गर्दै ओलीले भने, ‘अब मलाई समय नहुँदै मर्न मन छैन र यिनीहरुलाई नपछारी आफू हार्न पनि मन छैन।’
उनले अबको निर्वाचनमा काठमाडौं जिल्ला एमालेको किल्ला बनाउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।