नयाँ पुस्तामा धाँ बाजा आकर्षण

हिमाल प्रेस १० भदौ २०८० १८:५७ | Sunday, August 27, 2023
नयाँ पुस्तामा धाँ बाजा आकर्षण

काठमाडौँ- धाँ बाजा प्रशिक्षण पूरा गरेका एक समूह आइतबार सार्वजनिक गरिएको छ। परम्पराअनुसार प्रशिक्षण पूरा भएपछि सार्वजनिक स्थानमा बाजा बजाएर प्रदर्शन गर्ने चलनअनुसार भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फ्युजन कम्प्युटर इन्टिच्युटबाट तालिम प्राप्त प्रशिक्षण टोलीलाई सार्वजनिक गरिएको हो।

यही क्रममा उनीहरूले परम्पराअनुसार भक्तपुर नगरपालिका वडा नं ९ दतात्रयस्थित नासद्य (देवस्थल) पुगेर सामूहिक रूपमा पूजाआजा गर्नुका साथै सार्वजनिक रूपमा बाजा बजाएर प्रदर्शन गरेका थिए। त्यसक्रममा उनीहरूले नगर परिक्रमा पनि गरेका थिए। यसअघि बाहिर नभई कक्षाकोठामा मात्रै बजाउने गरिन्थ्यो।

प्रशिक्षण पूरा गरी आइतबार सार्वजनिक भएका बशिल त्वायनाले धाँ बाजाबारे धेरैलाई कम जानकारी भएकाले यसलाई बचाउन आफूले धाँ बाजा सिकेको बताए। उनले आफूलाई पुराना बाजाहरू मनपर्ने भएकाले दैनिक साँझसाँझको समयको सदुपयोग गरी धाँ बाजा सिकेको बताए।

त्वायनाकै समूहमा धाँ बाजा सिकेकी अर्की प्रशिक्षार्थी रेणु त्वानाबासुले पहिलापहिला पुरुषहरू मात्रै सिक्न पाइने बाजा अहिले जसले सिक्दा पनि हुने भएकाले आफूले सिकेको सुनाइन्। आफूलाई पनि धाँ बाजा बजाएर प्रदर्शनमा जान मन लागेकाले बाजा सिकेको उनको भनाइ थियो।

२०७६ सालदेखि नै निरन्तर धाँ बाजा सिकाउँदै आएको बताउने भक्तपुर नगरपालिका वडा नं ८ लिवालिस्थित नियो निओ फ्युजन बाजा समूहका अध्यक्ष बालकृष्ण बनमालाले पुराना बाजा बजाउने कला नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हेतुले २०६८ सालदेखि धिमे बाजा सिकाउँदै आएको बताए। पछिल्लो पटक धाँ बाजाप्रति आकर्षण बढेकोले धाँ बाजा प्रशिक्षण पनि थपेको उनको भनाइ छ । अहिले थप बाँसुरी, पछीमा (बाजाको नाम) को प्रशिक्षण पनि थप गरेको उनले बताए।

प्रकाशित: १० भदौ २०८० १८:५७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast