 
                             
                                            काठमाडौँ- वैदेशिक रोजगारीका लागि ग्रिस पुगेका नेपालीलाई अपहरण गरी फिरौती उठाउने चार जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनकुटाका ३२ वर्षीय शिवराज कुँवर, काठमाडौँका ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तुका ३२ वर्षीय प्रकाश बेलवासे र पर्वतका ४२ वर्षीय दिलबहादुर थापा छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरू सबैलाई काठमाडौँको गौरीघाटबाट फिरौतीको २१ लाख ७५ हजार रुपैयाँसहित पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार गत जेठ १२ गते मोरङको रंगेली नगरपालिका–२ बस्ने यदुराज थापाकी छोरी वर्ष २५ की साबित्रा थापा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका– ३ बस्ने तिलकबहादुर कार्कीका छोरा कृष्ण कार्की र काभ्रेपलाञ्चोक नमोबुद्ध–१ मथुरापाटी बस्ने वर्ष ३० को पोखनाथ सत्यालका छोरा राजन सत्याल एकसाथ नेपालबाट सिजनल भिसामा वैदेशिक रोजगारको सिलसिलामा सर्बिया गएका थिए।
सर्बियामा चित्तबुझ्दो रोजगार तथा तलब सुविधा नपाएको कारण लुकी छिपी ग्रीस प्रवेश गरे। त्यस क्रममा हिन्दी भाषा बोल्ने अपरिचित पाकिस्तानी भन्ने खुल्न आएका व्यक्ति तथा उसको सहयोगी समेतले उनीहरूलाई अपहरण गरी, डोरीले बाँधेर शारीरिक तथा मानसिक यातना तथा डर त्रास देखाइ, ज्यान मार्ने धम्की दिएर पीडितको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती मागे।
त्यसबारे पीडितका आफन्तले सीआईबीमा जानकारी दिएपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको थियो। ग्रिस तथा दुबईबाट ह्वाट्सएपमार्फत पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका चारै जनालाई भदौ २ गते काठमाडौँको गौरिघाट डेरा कोठाबाट फिरौती रकमसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
ग्रिसमा बन्धक भएका चारै जनालाघ पनि प्रहरीले सकुशल नेपाल फिर्ता ल्याएको छ। पक्राउ परेकामध्ये शिवराज कुँवरको भूमिका नेपालमा फिरौती रकम लिने रहेको थियो।
यस्तै, रामेश्वर अर्याल नेपालमा फिरौती लिएको रकम शिवराज कुँवरसँग लिन सम्पर्क भएको व्यक्ति हुन् भने हाल वैदेशिक रोजगारको सिलसिलामा दुबई रहेका प्रकाश बेलबासेको काम दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।
यस्तै, दिलबहादुर थापा दुबईमा प्रकाश बेलबासेलाई रकम नेपालको रामेश्वर अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने व्यक्ति हुन्। पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 