मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्च अदालत जाने

हिमाल प्रेस ५ भदौ २०८० १७:२२ | Tuesday, August 22, 2023
मुख्यमन्त्री थापाले पाएको विश्वासको मतविरुद्ध  एमाले सर्वोच्च अदालत जाने कोशी प्रदेशसभाको बैठक। फाइल तस्बिर

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पुनः असंवैधानिक कदमबाट विश्वासको मत प्राप्त गरेको आरोप लगाउँदै नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ।

प्रदेश नियमावली र संविधानका धारा छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको भन्दै सर्वोच्चअदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए।

पार्टीसँगको सल्लाह र प्रदेश इञ्चार्जको निर्देशनपछि संसदीय दलले सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको कार्कीले बताए। एमाले निकट कानुन व्यवसायीहरूले काठमाडौँमा त्यसको तयारी गरेको जानकारी दिँदै उनले बुधबार रिट हाल्न काठमाडौँ जाने बताए।

मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए।

प्रदेशसभाकी उपसभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए।

मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए।

मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरी प्रदेशसभामा विश्वासको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो। सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै एमाले अदालत जान लागेको हो।

यसअघि सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा मुख्यमन्त्री बनेका उनै थापाविरुद्व एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो। उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले सरकार असंवैधानिक रहेकाले खारेज गरेको थियो।

पछि सभामुखलाई राजीनामा गराएर पुनः थापा नै गत साउन १६ गते मुख्यमन्त्री भएका थिए। थापा मुख्यमन्त्रीमा नियुक्त भएसँगै सोमबार विश्वासको मत लिने कार्यक्रम थियो।

प्रकाशित: ५ भदौ २०८० १७:२२ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast