बागमतीमा ४० हजार पशुमा लगाइयो लम्पी स्कीनविरुद्धको खोप

हिमाल प्रेस ३ भदौ २०८० १२:२६ | Sunday, August 20, 2023
बागमतीमा ४० हजार पशुमा लगाइयो लम्पी स्कीनविरुद्धको खोप फाइल तस्बिर। हिमाल प्रेस

बागमती- बागमती प्रदेशका विभिन्न जिल्लामा रहेका ४० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप लगाइएको छ। लम्पी स्कीनरोग विरुद्धको एक हप्ते खोप अभियानअन्तर्गत खोप लगाइएको प्रदेश सरकारको पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार खोप अभियानअन्तर्गत चितवन जिल्लामा ९ हजार २५ पशुमा, दोलखामा २ सय ८४ पशुमा, भक्तपुरमा ९ सय २१, ललितपुरमा १ हजार ४ सय ३७, मकवानपुरमा ५ हजार ९ सय ५६ पशुमा खाेप लगाइएको छ।

त्यस्तै धादिङमा ३ हजार ५ सय १० पशुमा लम्पी स्कीनविरुद्धको खोप लगाइएको छ। साथै सिन्धुलीमा २ हजार ४ सय ९०, रामेछापमा १ हजार ९ सय ४२, सिन्धुपाल्चोकमा १ हजार ८ सय ९९, काभ्रेपलाञ्चोकमा ६ हजार ७७, नुवाकोटमा ३ हजार ३ सय ७७ तथा रसुवामा १ हजार १ सय ८८ पशुमा खोप लगाइएको हो।

मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशमा विगत १ वर्षमा लम्पी स्कीबाट ६ हजार २ सय ९१ गाईगोरु तथा बाच्छाबाच्छी मरेका छन्। त्यस्तै १ लाख १० हजार ४ सय ४० गाईगोरु तथा बाच्छाबाच्छी संक्रमित भएका छन्।

प्रदेशको आठ वटा भेटेरिनरी अस्पताल तथा पशुसेवा केन्द्रमार्फत खोपकर्ता नियुक्त गरिएको थियो। जसअन्तर्गत १ हजार ४६ जना खोपकर्ताले १३ जिल्लामा लम्पी स्कीन विरुद्ध खोप लगाएका छन्।

अभियानअन्तर्गत खटिएका प्राविधिकले खोप लगाउनुका साथै पशुचौपायालाई कसरी स्वस्थ्य र सुरक्षित राख्ने विषयमा जानकरीसमेत गराउने गरेको उनले बताए। प्रदेशमा अझै पनि १ लाख ५० हजारभन्दा बढी पशुचौपायालाई खोप लगाउन बाँकी छ। मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे सप्ताहव्यापी खोप अभियान सकिए पनि खोप लगाउने अभियान भने जारी रहेको बताए।

नेपालमा २०७७ साल साउनमा मोरङका पशुचौपायामा उक्त रोगको संक्रमण देखिएको थियो। लम्पी स्किन रोगको संक्रमणबाट ठूलो संख्यामा पशुचौपाया मरेका छन् भने दुग्ध उत्पादनमा पनि कमी आएको छ।

गाईगोरु तथा बाच्छाबाच्छीमा उक्त रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दुग्ध उत्पादन कम हुने, घाउँ खटिरा हुने, आँखा नाकबाट अत्यधिक मात्रमा सिगान बग्ने, लिम्फनोड सुनिनेजस्ता लक्षण देखिन्छन्।

प्रकाशित: ३ भदौ २०८० १२:२६ | Sunday, August 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast