साउनमा बजेट खर्च २ प्रतिशत, राजस्व संकलन ६ प्रतिशत

हिमाल प्रेस १ भदौ २०८० १५:३८ | Friday, August 18, 2023
साउनमा बजेट खर्च २ प्रतिशत, राजस्व संकलन ६ प्रतिशत अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो महिना साउनमा सरकारले वार्षिक विनियोजनको २.१ प्रतिशत बजेट खर्च गरिएकाे छ। साउनमा करिब ६ प्रतिशत राजस्व संकलन गरिएकाे छ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ३५ अर्ब १७ करोड ९० लाख रुपैयाँ बजेट खर्च गरेको छ। यही अवधिमा सरकारको राजस्व संकलन ८८ अर्ब १३ करोड ९० लाख रुपैयाँ गरेकाे ५।

चालु आर्थिक वर्षमा सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये चालुतर्फ ९ खर्ब ४९ अर्ब ३३ करोड ५६ लाख, पूँजीगततर्फ ४ खर्ब ७१ अर्ब ६ करोड ५८ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ३० अर्ब ९१ करोड ७ लाख रुपैयाँ बजेट छुट्याइएको छ।

साउन मसान्तसम्ममा चालुतर्फ १२ अर्ब १९ करोड १७ लाख अर्थात् वार्षिक लक्ष्यको १.२८ प्रतिशत र पूँजीगततर्फ ९० करोड ६१ लाख अर्थात् वार्षिक लक्ष्यको ०.१९ प्रतिशत खर्च भएको छ।

यो अवधिमा चालु र पूँजीगत शीर्षकमा भएको भन्दा वित्तीय व्यवस्थामा भएको बजेट खर्च धेरै छ। साउनमा सरकारले वित्तीय व्यवस्थातर्फ २२ अर्ब ७ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ। उक्त खर्च वित्तीय व्यवस्थातर्फको वार्षिक लक्ष्यको ६.६७ प्रतिशत हो।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलनमा कर राजस्वतर्फ ७० अर्ब १७ करोड ५२ लाख  रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ५.३८ प्रतिशत र गैरकर राजस्वतर्फ ८ अर्ब ६९ करोड ८९ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ७.४३ प्रतिशत बराबर संकलन भएको छ। महालेखा नियन्त्रकको तथ्यांकअनुसार सरकारले साउन महिनामा वैदेशिक अनुदान भने उठाएको देखिँदैन।

प्रकाशित: १ भदौ २०८० १५:३८ | Friday, August 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast