पाकिस्तानमा भड्कियाे धार्मिक हिंसा, फैसलाबादका चर्चहरूमा आगजनी

हिमाल प्रेस ३१ साउन २०८० २१:०१ | Wednesday, August 16, 2023
पाकिस्तानमा भड्कियाे धार्मिक हिंसा, फैसलाबादका चर्चहरूमा आगजनी तस्बिर : डन डटकम

काठमाडौँ- पाकिस्तानको फैसलाबादमा धार्मिक हिंसा भड्किएको छ। कुरानको कथित अपमान गरेको घटनापछि आक्रोशित प्रदर्शनकारीहरूले स्थानीय इसाई समुदायमाथि आक्रमण गरेका छन्।

फैसलाबादको जरनवाला तेहसीलमा भएको हिंसामा एउटा चर्चमा आगजनी गरिएको छ। साथै क्रिश्चियन समुदायका कोलोनी र त्यस क्षेत्रका केही सरकारी भवनमा समेत तोडफोड गरिएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।

तस्बिर : डन डटकम

स्थानीय अधिकारीहरूका अनुसार बुधबार बिहान इसानगरी भन्ने क्षेत्रमा केही युवाहरूले कुरानको कथित अपमान गरेको खबर सामाजिक सञ्जालमा सेयर गरेका थिए। सो खबर सामाजिक सञ्जालमा फैलिएपछि बुधबार बिहान करिब ८ बजेदेखि विरोध सुरु भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ।

जरानवालाका एक प्रहरी अधिकारी शौकत मसिहले आक्रोशित प्रदर्शनकारीहरूले बिहान ८ बजेदेखि ९ बजेसम्म इसा नगरीमा आगो लगाएको खबर पाइएको बताएका छन्। ‘आक्रोशित प्रदर्शनकारीहरूले हातमा लाठी बोकेका थिए र जरानवालाको सहायक आयुक्तको कार्यालयमा पनि यस्तै समूहले आक्रमण गरेको खबर छ,’ प्रहरी अधिकारी शौकत मसिहले भनेका छन्।

चर्च अफ पाकिस्तानका अध्यक्ष विशप आजाद मार्शलले घटनाप्रति दु:ख व्यक्त गरेका छन्। पाकिस्तानकाे पञ्जाब प्रान्तका प्रहरी प्रमुख उस्मान अनवरले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन्। प्रदर्शनकारीहरूले फैसलाबादस्थित प्रहरी चौकीमाथि आक्रमण गरेका छन्।

पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हक कक्कडले घटनाप्रति दुःख व्यक्त गरेका छन्। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहबाज शरीफ सरकारमा विदेशमन्त्री रहेका बिलावल भुट्टो जर्दारीले पनि जरानवाला घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

उनले कसैको पूजास्थलको पवित्रता हनन् गर्नु पूर्ण अस्वीकार्य रहेको भन्दै क्रिश्चियन समुदाय र उनीहरूका चर्चहरूको सुरक्षा गर्न माग गरेका छन्।

प्रकाशित: ३१ साउन २०८० २१:०१ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast