भारतीय सहयोगमा बनेको विष्णुदेवी माविको नवनिर्मित भवन उद्घाटन

हिमाल प्रेस ३० साउन २०८० १९:२६ | Tuesday, August 15, 2023
भारतीय सहयोगमा बनेको विष्णुदेवी माविको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको काठमाडौँको चन्द्रागिरिस्थित विष्णुदेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ।

भारतको ७७औं स्वतन्त्रता दिवसको अवसरमा नवनिर्मित विद्यालय भवनको मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशल, चन्द्रागिरि नगरपालिकाका वडाध्यक्ष घनश्याम लुईटेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्रबहादुर सुवेदी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक डिल्लीराम लुईटेलले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

दूतावासका अनुसार सो भवन ६.९ करोड लागतमा निर्माण गरिएको हो। नवनिर्मित संरचनामा दुईवटा ब्लक छन्, जसमा १३ वटा कक्षाकोठा, प्रशासनिक कक्ष, पुस्तकालय, बहुउद्देश्यीय हल, प्रयोगशाला आदि छन्।

भवन बालमैत्री, लैंगिकमैत्री र अपांगमैत्री भूकम्प प्रतिरोधी संरचनाले पाँच सय जनाभन्दा बढी विद्यार्थीलाई लाभान्वित तुल्याउनुका साथै प्रभावकारी सिकाइ वातावरण प्रदान गर्ने दूतावासले जनाएको छ।

‘यो विद्यालय भूकम्पपछिको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान रकम ५० मिलियन अमेरिकी डलरअन्तर्गत नेपालका आठ जिल्लामा निर्माण भइरहेका ७१ शैक्षिक संस्थामध्येकै एक हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यी ७१ शैक्षिक संस्थामध्ये ६५ वटा विद्यालयको निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ६ वटा पनि छिट्टै सम्पन्न हुने भएको छ।’

प्रकाशित: ३० साउन २०८० १९:२६ | Tuesday, August 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast