ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव पौड्यालसँग सीआईबीले लियो बयान

हिमाल प्रेस २९ साउन २०८० २१:२० | Monday, August 14, 2023
ललिता निवास प्रकरण : पूर्वमुख्यसचिव पौड्यालसँग सीआईबीले लियो बयान

काठमाडौँ- ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले पूर्वमुख्यसचिव लीलामणि पौड्यालसँग बयान लिएको छ। २०६९ को मन्त्रिपरिषद्को निर्णय र प्रमाणीकरणका सन्दर्भमा पौडेलसँग जानकारी लिइएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले पूर्वमुख्यसचिव पौड्यालसँग ललिता निवासका विषयमा जानकारी लिइएको र यो नियमित प्रक्रिया भएको बताए।

२०६९ मा ललिता निवासको जग्गा पशुपति टिकिन्छा गुठीका नाममा सार्ने विषयमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो। त्यही निर्णयका विषयमा सीआईबीले उनीसँग बयान लिएको जनाइएको छ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनीसँग बयान लिएको थियो। साउन २१ गते सर्वोच्च अदालतले उक्त प्रकरणमा उच्च र निर्णय तहका व्यक्तिहरूमा पनि अनुसन्धान गर्न आदेश दिएको थियो।

उक्त जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ। यसअघि सीआईबीले पूर्वउपप्रधान एवं भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधारमन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ अनुमति लिइसकेको छ।

अहिलेसम्म २० जनालाई हिरासतमा राखेर अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ। २०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो। उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीहरू मुछिएका छन्। -रासस

प्रकाशित: २९ साउन २०८० २१:२० | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast