काठमाडौँ- आज बिहान देशभर पूर्णतया बदली रहेको छ। सबै प्रदेशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
भारी र अति भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ।