पोखरा- नेपाल सारथी फाउन्डेसन तथा इकोनोमिक्स हब नेपालको संयुक्त आयोजनामा ‘नेपालमा महिला : चुनौती र सम्भावना’ विषयक क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले गरेका थिए भने अतिथिको रूपमा पोखरा महानगरका मेयर धनराज आचार्यले पनि सम्मेलनलाई सम्बोधन गरेका थिए।
मन्त्री आलेले महिला स्वयम् सशक्तीकरण हुन आवश्यक रहेको बताए। उनले राज्यको हरेक तहमा पुरुषभन्दा महिलाको उपस्थिति बढी रहेको भन्दै महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भने उद्देश्य प्राप्ति हुने पनि बताए।
महानगरका मेयर आचार्यले महिलाको सवालमा महानगर सधैँ काम गर्न तत्पर रहेको भन्दै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए। सो सम्मेलनमा गण्डकी प्रदेशका विभिन्न डाटा तथा फिगरलाई पेपर प्रिजेन्ट गर्दै पोखरा विश्वविद्यालयका एसोसिएट प्रोफेसर दीपेन्द्र पहारीले गण्डकी प्रदेश सरकार अरु प्रदेश सरकारका तुलनामा बढी महिलामैत्री रहेको बताए।
त्यसैगरी पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीले पुरुषहरूलाई महिलाको नेतृत्व अपच भएको पाइएको बताइन्। पुरुषभन्दा महिला धेरै भएको यो गण्डकी प्रदेशलाई साँच्चिकै महिलामैत्री प्रदेश बनाउने हो भने विभिन्न नीतिगत सुधार आवश्यक रहेको पनि उनको भनाइ थियो।
सारथी फाउन्डेसनका कार्यक्रम संयोजक अजर गुरुङले सातै प्रदेशमा प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए। उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्थाबारे बुझ्न कार्यक्रमको आयोजना गरेको बताए। शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले दूरदराजका महिलाहरू अझै पनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको बताइन्।