फाइल तस्बिर। हिमाल प्रेस
                                            ललितपुर– ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा देखिएको छ। झिंगा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने संक्रमण यहाँ फैलिदै गएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार ४ सय ३१ पशु संक्रमित भएका छन्।
संक्रमितमध्ये ७२ भैंसी र ११ गाई मरिसकेका छन्। उनका अनुसार संक्रमण बढ्दो क्रममा रहेको उनको भनाइ छ।
थप क्षति नहोस् भनेर केन्द्रले सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा ८ हजार ३ सय गाई भैंसीलाई ‘लम्पी स्किन’विरुद्धको खोप लगाइसकेको जानकारी दिइन्।
गोदावरी नगरपालिकामा मात्र ५ हजार गाई भैंसीलाई खोप लगाएको छ भने यहाँ संक्रमित संख्या २ सय ९६ पुगेको छ।
‘उपत्यकामा कूल संक्रमित पशुको संख्या १२ हजार ८ सय ७३ पगेको छ,’ डा. तिमिल्सिनाले भनिन्, ‘गाई भैंसी संक्रमणमुक्त १ हजार १७ छन् भने मर्नेको संख्या १ सय ७४ पुगेको छ।’
उपत्यकाभरका १७ हजार ९ सय ८८ गाई भैंसीलाई खोप लगाइसकेको उनले बताइन्।

                                             
                                             
                                             

