स्रष्टाले मागे निःशुल्क औषधोपचार र परिचयपत्र 

हिमाल प्रेस १६ साउन २०८० १५:५५
6
SHARES
स्रष्टाले मागे निःशुल्क औषधोपचार र परिचयपत्र 

काठमाडौँ- स्रष्टाहरूले निःशुल्क औषधोपचार र परिचयपत्रको व्यवस्था गर्न माग गरेका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा हालै पोखरामा सम्पन्न भेलाले जारी गरेको १० बुँदे ‘प्रज्ञा पोखरा घोषणापत्र २०८०’ मा यस्तो माग गरिएको छ।

औषधोपचारका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्ने तथा स्रष्टाहरूको स्वास्थ्योपचारका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा अक्षयकोष स्थापना गर्न सम्बन्धित सरकारसमक्ष आग्रह गर्ने घोषणापत्रमा उल्लेख छ। उनीहरूले स्रष्टा परिचयपत्रलाई व्यवस्थित गर्दै एकरूपता कायम गर्नुपर्नेमा जोड दिएका छन्।

यस्तै प्रज्ञा प्रतिष्ठानहरूका कुलपति तथा उपकुलपतिको मर्यादाक्रम प्रचलित कानुनअनुसार स्पष्ट पार्नुपर्ने घोषणापत्रमा उल्लेख छ। ‘सबै तहका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम राज्यका अन्य निकायरूको सोपान व्यवस्थाअनुसार कायम हुनुपर्छ’, घोषणापत्रमा उल्लेख छ।

संस्कृति-भाषा, साहित्य, ललितकला, संगीत नाट्य) नीति स्पष्ट बनाउनुपर्ने, देशको विविधता, मौलिकता र सामाजिक-राजनीतिक परिवर्तनको मर्म र सौन्दर्यलाई आत्मसात् गरी नेपालका सबै भाषा, संस्कृति, ललितकला, संगीत, दर्शन, रैथाने ज्ञान, सीपको सैद्धान्तीकरणसहित तिनको संरक्षण, संवर्धन र विकासमा जोड दिँदै प्राज्ञिक निकायको पुनर्संरचनामा जोड दिने घोषणापत्रमा उल्लेख छ।

सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका सबै प्राज्ञिक संरचनाका बीचमा एकरूपता कायम गराउन पहल गर्ने, प्रज्ञा प्रतिष्ठानहरूलाई अनुसन्धान, सिर्जना, प्रकाशनलगायतका प्राज्ञिक कार्य गर्न यथोचित बजेट बढाउनुपर्ने घोषणापत्रमा उल्लेख छ।

केन्द्र, प्रदेश तथा स्थानीय तहका प्राज्ञिक निकायबीचको सम्बन्ध सेतुका आधार निर्माण गर्दै सहकार्य गर्ने, संस्कृति, ललितकला, साहित्य, संगीतसँग सम्बन्धित कच्चा पदार्थ र सामग्री, कलाकृति, पुस्तक बिक्रीवितरणमा भन्सार तथा अन्य कानुनी प्रावधानका कारण बेहोर्नुपरेका प्रक्रियागत झन्झट हटाउनुपर्ने, भाषा, साहित्य, ललितकला, नाट्य, संगीत, दर्शन आदि क्षेत्रमा विद्यमान मौलिक तथा रैथाने ज्ञानपरम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने लगातयका बुँदा छन्।

घोषणापत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुणि हार्तम्छाली, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, नेपाल लला कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले हस्ताक्षर गरेका छन्।

यस्तै घोषणापत्रमा हस्ताक्षर गर्ने अन्यमा सूर्य खड्का ‘बिखर्ची’ (कुलपति गण्डकी प्रज्ञाप्रतिष्ठान), धनप्रसाद सुवेदी (सदस्यसचिव नेपाल प्रज्ञा प्रतिष्ठान), देवेन्द्रकुमार काफ्ले थुम्केली, (सदस्यसचिव नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), कुश्मा महरा ‘प्रगति’ (सदस्यसचिव, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान), गोरे गुरुङ (उपकुलपति गण्डकी प्रज्ञा प्रतिष्ठान), टीएन जोशी (उपकुलपति सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान), मनकुमार श्रेष्ठ, (सदस्यसचिव गण्डकी प्रज्ञा प्रतिष्ठान), सौरगंगा दर्शनधारी (प्राज्ञ परिषद् सदस्य, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान), चेतनाथ धमला (प्राज्ञ सभा सदस्य नेपाल प्रज्ञा प्रतिष्ठान), नारायण मरासिनी (प्राज्ञ सभा सदस्य नेपाल प्रज्ञा प्रतिष्ठान) र राधिका कँडेल (प्राज्ञ सभा सदस्य नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान) छन्।

भेला नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल संगत नाट्य प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, प्राज्ञ परिषद् तथा प्राज्ञ सभाका सदस्यहरूको सहभागितामा भएको हो।

प्रकाशित: १६ साउन २०८० १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast