
काठमाडौँ- निर्माण कार्यको भुक्तानी हुनुपर्ने र सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायतका माग राख्दै निर्माण व्यवसायीले बालुवाटारमा प्रदर्शन गरेका छन्। ९ बँुदे माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका हुन्।
अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभई काम हुन नसक्ने रुग्ण आयोजना एवं काबु बाहिरका निर्माण कार्य सुविस्तारको आधारमा अन्त्य गर्नुपर्ने महासंघको माग छ।
उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन, नियम व्यवसायीमैत्री हुनुपर्ने आफुहरुको माग रहेको महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए। सरकारले सुरुवात गरेको आयोजनाहरुको भुक्तानी समयमा नै नभएकाले हरेक बर्ष अतिरिक्त खर्च बढ्दै गएको उनले बताए।
आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघले यसअघि सबै प्रमुख राजनीतिक दलका नेताहरूलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको छ। आफ्ना मागका बारेमा सरकार गम्भीर नभएको भन्दै महासंघले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका हुन्।