५० वस्तुको गुणस्तर सिफारिसमध्ये ३५ वस्तुको पारित

हिमाल प्रेस १३ साउन २०८० ११:५० | Saturday, July 29, 2023
५० वस्तुको गुणस्तर सिफारिसमध्ये ३५ वस्तुको पारित

काठमाडौँ– नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष ०७९/८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए।

‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं,’ उनले भने। परिषद्ले अघिल्लो आव ०७८/७९ मा १५ तथा आव ०७७/७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो।

विभागका अनुसार आव २०७९/८० मा २९ वटा उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न प्राप्त गरेका छन् भने ४० वटा उत्पादित वस्तु तथा पदार्थले इजाजतपत्र लिएका छन्।

साथै १३ वटा उद्योगले प्रमाणपत्र लिएको विभागको भनाइ छ।

विभागका प्रवक्ता ज्योति जोशी भट्टले गत आवमा २ सय ३३ पटक उद्योगको निरीक्षण र २९ पटक बजार अनुगमन गरिएको जानकारी दिए। जसमा ७ ८९ नमूना संकलन गरेर जाँच गरिएको उनको भनाइ छ। विभागले गत आवमा ७१ उद्योगलाई स्पष्टीकरण सोधेको छ।

विभागले १ वर्षमा २ हजार ४ सय ४५ वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परीक्षण सम्पन्न गरेको छ। २ हजार १ सय ११ क्यालिब्रेसन सेवा प्रदान गरेको छ भने १८ वटा तालिम गोष्ठी प्रदान गरेको जनाएको छ।

विभागले गत आवमा ४ सय ३३ उद्योगको नवीकरण सम्पन्न गरेको छ। यस्तै, नेपाल गुणस्तर चिह्न प्राप्त गर्नका लागि आवेदन दिएका १ सय ३० उद्योगको निरीक्षण तथा ९ वटा इजाजतपत्र/प्रमाणपत्र खारेज गरेको छ।

धनुषा, सर्लाही, महोत्तरी, रामेछाप र सिन्धुली जिल्लाका ११ पेट्रोल पम्पको निरीक्षण गरेकामा तीनवटालाई कारबाही गरिएको प्रवक्ता भट्टले बताए। विभागले कारबाहीवापत गत आवमा ४ करोड ४२ लाख ९४ हजार २३२ राजस्व संकलन गरेको छ।

प्रकाशित: १३ साउन २०८० ११:५० | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast