फाइल तस्बिर।
                                            काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खराब हृदय भएका व्यक्तिलाई रास्वपामा कुनै ठाउँ नभएको बताएका छन्।
पार्टीको सिन्धुली-काठमाडौं सम्पर्क विभागको शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। खराब हृदय भएका मानिसहरू पार्टीमा भए त्यस्तालाई तत्काल फाल्न सक्ने पार्टीमा तागत रहेको उनको भनाइ छ।
‘खराब हृदय भएका मानिसहरू फाल्न सक्ने तागत छ। पार्टीमा को-को आउनुहुन्छ त्यो भन्न सक्दिनँ यो एउटा भेल हो। यहाँ धेरै मानिसहरू आउन सक्छन् जसमा खराब पात्रहरू पनि पर्न सक्छन्, असल पात्रहरू पनि आउन सक्छन्। तर खराब व्यक्तिहरूलाई पार्टीबाट तत्कालै फालिन्छ,’ उनले भने।
रास्वपामा जोडिने बित्तिकै ०८४ मा हुने निर्वाचनका लागि उम्मेदवार बनिनहाल्ने सोच्न नहुने उनले पार्टीका कार्यकर्ता र शुभचिन्तकलाई स्पष्ट पारे। रास्वपामा इमान्दार र असल व्यक्ति जोड्नका लागि मिसन ०८४ अभियान चलाइएको उनले बताए।
‘विभिन्न घटनालाई लिएर पार्टीप्रति प्रश्न उठेको छ। यो समाजले जन्माएर हुर्काएर ल्याएको मानिस हो। मानिसहरूले कुन राजनीतिक संस्कार सिक्यो हामी भन्न सक्दैनौं। त्यही राजनीतिक संस्कारबाट आएका पुराना नयाँ साथीहरुबाट यस्ता किसिकमा क्रियाकलाप हुन सक्लान्। तर यसमा हामीले खबरदारी गर्न जरुरी छ,’ उनले भने।

                                             
                                             
                                             
                                             
                                             
                                             

