नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी

हिमाल प्रेस ११ साउन २०८० २१:१४ | Thursday, July 27, 2023
नियमित कार्यालय नआउने कर्मचारीको हाजिरीमा नगरपालिकाको रातो मसी

खाेटाङ- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ।

विनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको ४-४ दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो।

नगरप्रमुख तीर्थराज भट्टराईले बिहीबार बिहान १०ः४५ बजे छड्के अनुगमन गरेका थिए। साे क्रममा विनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान भएकाे थियाे। त्यसपछि उनले अनुपस्थित कर्मचारीकाे हाजिरीमा रातो मसी लगाउन निर्देशन दिएका थिए। नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाइदिइन्।

नियमन गर्दै नियमित ढंगबाट सेवा प्रवाहका लागि विनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए।  कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायत गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गरेका थिए।

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिँदै प्रक्रिया पुर्‍याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई निर्देशन दिए। नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेका छन्। रासस

प्रकाशित: ११ साउन २०८० २१:१४ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast