काठमाडौँ- टिप्पणी आदेशको भरमा १२ जना कर्मचारी नियुक्त गरेको आरोपमा राष्ट्रिय सतर्कता केन्द्रले गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीमाथि कारबाहीको सिफारिस गरेको छ। साथै केन्द्रले ती कर्मचारीको नियुक्ति प्रक्रिया खारेज गर्न निर्देशन दिएको छ।
संस्थानमा पदपूर्ति समिति गठन एवम् सिफारिस नगरी ती कर्मचारी नियुक्त गरेको पाइएकाले केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुवेदीसहित संस्थानका पाँच जनालाई कारबाही गर्न निर्देशन दिएको हो। केन्द्रले निर्देशनको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि दिएको छ।
केन्द्रले भनेको छ, ‘१२ जना कर्मचारीहरूको नियुक्ति गोरखापत्र संस्थान कर्मचारी सेवा सर्त विनियमावली, २०५२ को विनियम ४१ बमोजिम पदपूर्ति समितिको सिफारिसका आधारमा उपयुक्त व्यक्तिलाई गर्नुपर्नेमा पदपूर्ति समिति गठन एवम् सिफारिस बिना नै उक्त विनियमावलीको प्रक्रिया पालना नगरी टिप्पणी आदेशको भरमा नियुक्ति गरेको पाइयो।’
केन्द्रले नियुक्ति प्रक्रियामा संलग्न संस्थानको कर्मचारी प्रशासन शाखाका वरिष्ठ सहायक रूपचन्द्र भट्ट, वरिष्ठ प्रशासन अधिकृत विमला खड्का, शाखा प्रमुख विक्रमबाबु राई, प्रशासन विभागका निमित्ति निर्देशक ओमप्रकाश भुसाललाई पनि कारबाही गर्न निर्देशन दिएको छ।
संस्थानमा कार्यकारी अध्यक्ष भएपछि सुवेदीले २०७८ कात्तिक ३० निर्णय गराएर विभिन्न तह पदमा गरी १२ जना कर्मचारी नियुक्त गरेका थिए। ती कर्मचारीलाई न्यूनतम प्रक्रिया पनि पूरा नगरी ठाडो तोकआदेशका आधारमा नियुक्ति गरेको उजुरी परेपछि केन्द्रले छानबिन गरेको थियो।