संगीतमा रमेका बाल संगीतकार

हिमाल प्रेस १० साउन २०८० १०:३५
6
SHARES
संगीतमा रमेका बाल संगीतकार

पाल्पा- संगीत भावना हो, मनभित्रको लय र माधुर्यता हो। संगीत मन नपर्ने सायदै नहोलान्।

यस्तै संगीतको धुनमा डुबुल्की मार्दैछन्, पाल्पाको रामपुरका अनुप काफ्ले।

उनी १५ वर्षको भए। उनलाई बाद्यवादन एक किसिमको नशाजस्तै बनेको छ। विद्यालयबाट घर फर्केपछि गृहकार्य सकाएर बाजा बजाउने र गीतअनुसारका नयाँ–नयाँ ताल सिक्ने गरे।

चार वर्षदेखि काफ्लेको दैनिकी यसरी नै बितिरहेको छ। उनको घर अहिले बाद्यवादन सिक्ने थलो नै बनेको छ। काफ्लले आफूले जानेको सीप अन्य साथीहरूलाई पनि सिकाउँछन्। घर नै संगीतको मीठो धुनले गुञ्जयमान छ।

‘संगीत नभई बस्न सकिँदैन, घरमा बसेर विभिन्न ताल सिक्ने र यसमै आनन्द लिने गरिरहेको छु’, काफ्लले भने, ‘घरमा बाजा पर्याप्त छन्, स्कुलमा सँगै पढ्ने तथा गाउँका साथी घरमै आउँछन्, उनीहरूलाई आफूले जानेको सिकाउने गरेको छु।’

गाउँघरमा हुने भजनकीर्तन र महायज्ञबाट प्रभावित भएर घरमा मादल बजाउन सुरु गरेका काफ्लेले क्रमशः सारंगी, तबला, ढोलक, हार्मोनियम र अक्टोप्याड बजाउन सिके।

अहिले उनी गाउँमा आयोजना गरिने महायज्ञ, भजनकीर्तन, धार्मिककार्यलगायतमा सहभागी भइ बाद्यवादनको काम गर्छन्। घरमा रहेका विभिन्न थरिका बाजा बजाउन थालेपछि छुट्टै आनन्दको अनुभूति हुने गरेको काफ्ले बताउँछन्।

‘विद्यालय समयबाहेक साँझ–बिहान घरमा बसेर सिक्ने गरिरहेको छु, अहिले गाउँका महायज्ञ, भजनकीर्तनजस्ता धार्मिक कार्यमा बोलाउनुहुन्छ, यस क्षेत्रमा धेरै आनन्द लागिरहेको छ’, उनले भने।

भजनकीर्तन र महायज्ञमा सहभागी भई आर्जन गरेको रकमले आवश्यक बाद्यवादनका सामग्री खरिद गर्ने गरेको काफ्ले बताउँछन्। धार्मिक कार्यमा सहभागी भएवापत उनले छ घन्टाको समय बाद्यवादनमा खटिएवापत पाँच हजार रुपैयाँसम्म रकम बुझ्छन्।

भविष्यमा राम्रो संगीतकार बन्ने काफ्लले लक्ष्य छ। घरमा बुवाआमाको राम्रो साथ सहयोग पाएका काफ्लेले एसईई परीक्षा उत्तीर्णपश्चात संगीत र संस्कृत शिक्षा पढ्ने योजना बनाउँछन्।

यसैगरी काफ्लेको जस्तै रामपुरकै विष्णु पोखरेलको पनि संगीतमा औधी रुचि छ । घरमा काका ऋषि पोखरेलबाट मादल बजाउन सिकेका १४ वर्षीय पोखरेललाई यतिबेला बाद्यवादनप्रति प्रेम नै बसेको छ।

मादल, हार्मोनियम र गीतारमा उनले राम्रो ताल भर्छन्। पोखरेललाई यसका अलवा अन्य बाजाको मोह उत्तिकै छ। विद्यालय बिदाको समय अहिले उनी अन्य बाजा बजाउन सिकिरहेका छन्।

पोखरेल भन्छन्, ‘सिक्न थालेपछि संगीतबिना एकछिन बस्नै सकिँदैन, विद्यालय समयबाहेक घरमा बाजासँगै समय बिताउने गरेको छु, विद्यालयमा संगीत कक्षा भएको भए सिक्न धेरै सजिलो हुन्थ्यो, तैपनि घरमा भएका तथा साथीसँग भएका बाद्यवादनका सामग्रीलाई आलोपालो गरेर सिक्दैछु।’

पोखरेलको घरमा हार्मोनियम, मादल, खैजडी, सारंगी, बाँसुरी, गितारलगायत बाजा छन् । साँझ–बिहान यी बाजाका धुनले घर गुञ्जायनमा बन्दछ। भविष्यमा बाद्यवादनको क्षेत्रमा राम्रो गर्ने उनको सोच छ।

पोखरेल यस क्षेत्रमा चार वर्षदेखि समर्पित छन्। यस्तै रामपुरकै शौरभबाबु घिमिरे पनि तीन वर्षदेखि संगीतमै रमाएका छन्। घरमा विस्तारै मादल बजाउन सिकेका उनले आफ्ना साथीसँग यससम्बन्धी ज्ञान आर्जन गरिहेका छन्।

पढाइ नबिग्रने गरी आफूलाई मनपर्ने बाजा साथीको घरमा गएर बजाउन सिक्ने गरेको घिमिरे बताउँछन्। पन्ध्र वर्षीय घिमिरेलाई बाद्यवादनप्रति निकै मोह छ। मादल, किबोर्ड र गितारका धुनमा उनी खाली समय बिताउँछन्।

संगीतको क्षेत्रमा केही गर्ने मनसाय बोकेर बाद्यवादनलाई निखारता दिन यससम्बन्धी इन्टरनेटलगायतका विभिन्न माध्यममा आवश्यक ज्ञानका कुरा घिमिरेले अध्ययन गर्छन्। अहिले अक्टोप्याड, हार्मोनियमलगायत बाजामा उनी ताल भर्न सिक्दैछन्।

संगीतले हरेक उमेरका व्यक्तिलाई तान्ने गर्दछ। मानिसमा भएका तनाव, पिर, दुःख, बोझलाई संगीतको धुनले भुलाइदिएको हुन्छ।

रामपुरकै अन्जन काफ्ले शारीरिक व्यायाम हुने, मानसिक सन्तुलन राम्रो हुँदै जाने, अल्छीपन हट्ने, तनाव हटेर जाने तथा फुर्सदको समयको राम्रोसित सदुपयोग भएको बताउँछन्।

बाह्र वर्षीय काफ्ले पाँचदेखि सात जनाको समूहमा विद्यालय समयबाहेक अन्य समय मिलाएर घरमा संगीत सिक्ने गरेको बताउँछन्। उहाँ घरमा बुवा र दाजुबाट सीप सिकेर तीन वर्षयता संगीतमा गीतअनुसारको ताल निरन्तर सिकिरहेका छन्। सानो उमेरमा पनि बाद्यवादनको क्षेत्रमा काफ्लेको सौख बढेको छ। संगीतका अलवा उनलाई चित्र कोर्न र फुटबल खेल्न औधी रुचि छ। कोरोना महामारीका बेला विद्यालय बन्द हुँदा काफ्लेले संगीत सिक्न थालेका छन्।

रामपुर नगरपालिकाभित्र बाद्यवादनसम्बन्धी कक्षा नभएकाले धेरै यस क्षेत्रमा रुचि भएर पनि सीप सिक्नबाट बञ्चित छन्। एक स्थानीय तहमा एउटा विद्यालयमा सङ्गीतसम्बन्धी कक्षा सञ्चालन गर्न यस क्षेत्रमा भविष्य बुन्दै गरेका बालबालिका तथा किशोर किशोरीको माग छ। खासगरी मानिसको प्रत्येक समयको अनुभूतले मनमा त्यस्तै किसिमको संगीत पैदा भइरहेको हुन्छ।

त्यसै समयमा मनभित्रको धुनसँग मिल्दोजुल्दो बाहिरी संगीत सुन्न पाइयो भने त्यसले अभैm सार्थकता पाउँछ र गहिरोसँग संगीतले हृदयमा छाप छोड्छ। त्यही बाहिरी संगीत अथवा धुन कालान्तरमा गएर अतितको स्मरणमा सहयोगी सावित हुन्छ।

रासस

प्रकाशित: १० साउन २०८० १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast