अनलाइन मिडिया सञ्चालकलाई काउन्सिलकाे अभिमुखीकरण

हिमाल प्रेस ९ साउन २०८० २०:२५ | Tuesday, July 25, 2023
अनलाइन मिडिया सञ्चालकलाई काउन्सिलकाे अभिमुखीकरण

काठमाडौँ- प्रेस काउन्सिल नेपालले नयाँ दर्ता गरिएका अनलाइन मिडिया सञ्चालकलाई अभिमुखीकरण तालिम दिएकाे छ। काउन्सिलले मंगलबार ४६ वटा सञ्चारमाध्यमका सञ्चालक तथा सम्पादकलाई अभिमुखीकरण तालिम दिएकाे हाे।

साे क्रममा सञ्चालक र सम्पादकहरूले पत्रकार आचारसंहिताको पालना गर्दै जिम्मेवार पत्रकारिता गर्न प्रतिबद्धता गरेका। अनलाइन सञ्चार माध्यम सञ्चालनमा आउनुअघि पत्रकार आचारसंहिता, पेसागत दायित्व र जिम्मेवारीबारे सजग गराउन काउन्सिलले नियमिति अभिमुखीकरण सञ्चालन गरी अनुगमन समेत गर्दै आएको छ। त्यसक्रममा मंगलबार विषयगत विज्ञद्वारा देशका विभिन्न ठाउँमा कार्यालय राखेर सञ्चालनमा आउन लागेका सञ्चार माध्यमलाई आचारसंहिताका विभिन्न पक्ष र पछिल्ला समस्याहरूबारे जानकारी गराइएकाे काउन्सिलले जानकारी दिएकाे छ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले डिजिटल पत्रकारितालाई विश्वसनीय र प्रभावकारी बनाउन मिडिया साक्षरताको खाँचो पर्ने भएकाले यस्ता कार्यक्रमलाई बढावा दिनुपर्ने बताए। ‘पत्रकारिताप्रति समाजले निकै ठूलो अपेक्षा राखेको हुन्छ। गलत कामलाई गलत र सहीलाई सही रूपमा बाहिर ल्याउनुपर्छ’ बस्नेतले भने। ‘डिजिटल पत्रकारितालाई तथ्यपूर्ण र विश्वसनीय बनाउन सकिएन भने ठूलो समस्या निम्त्याउनेछ।’

अध्यक्ष बस्नेतले छापा माध्यममा अहिले देखिएको संकट र डिजिटल बहावको पानीढलोमा अब सञ्चारकर्मीले आफ्नो पेसागत शुद्धताका लागि विशेष ध्यान दिनुपर्ने बेला आएको बताए। ‘प्रेस काउन्सिलले गर्ने अनुगमन, दिने सुझाव त छँदैछ, तर सञ्चार माध्यम स्वयंले स्वअनुगमन र आत्मसमीक्षा गरेर अघि नबढ्ने हो भने समाजले राखेको अपेक्षा पूरा हुन सक्दैन। त्यसको सबैभन्दा ठूलो घाटा सञ्चार जगतलाई नै हुन्छ,’ उनले भने।

कार्यक्रमका विज्ञका रूपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल र डा. महेन्द्र विष्टले काउन्सिलले जारी गरेका आचारसंहिता र विभिन्न सञ्चार निर्देशिकाहरूमा केन्द्रित रहेर छलफल गरेका थिए।

प्रकाशित: ९ साउन २०८० २०:२५ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast