फार्मेसी अनुगमनमा स्वास्थ्यमन्त्री बस्नेत, देशैभर फार्मेसीकाे अनुगमन गरिने

हिमाल प्रेस ८ साउन २०८० १६:३९ | Monday, July 24, 2023
फार्मेसी अनुगमनमा स्वास्थ्यमन्त्री बस्नेत, देशैभर फार्मेसीकाे अनुगमन गरिने

काठमाडाैँ- सरकारले देशैभर फार्मेसी अनुगमन थालेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको हाे। औषधि र औषधिजन्य वस्तुको सही उपभोग भए/नभएकाे, इजाजत लिएर सञ्चालन गरे/नगरेका लगायतमा अनुगमन गर्ने याेजना सरकारकाे छ।

साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस्तरबारे जानकारी लिनका अनुगमन अघि बढाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताए। अनुगमनका क्रममा साेमबार मन्त्री बस्नेत स्वयं फार्मेसीको स्थलगत निरीक्षणमा पुगे। उनले ललितपुर पाटनस्थित टाइम मेडिकल फार्मेसी, एकान्तकुनाको सेवा हेल्थ केयर प्रालि (फार्मेसी युनिट) र जावलाखेलको अल्का अस्पतालको फार्मेसी अनुगमन गरे।

अनुगमनका क्रममा पाटनस्थित टाइम मेडिकल र एकान्तकुनाको सेवा हेल्थ केयर फार्मेसीमा म्याद गुज्रिएका औषधि राखिएको पाइएको, मिति नाघेका औषधिको बिल बनाउँदा स्पष्ट नलेखेको, कतिपय बेच्न नमिल्ने औषधि पनि राखेको पाइएको मन्त्री बस्नेतले जानकारी दिए।

फार्मेसीको निरीक्षणपछि मन्त्री बस्नेतले देशभरका फार्मेसीको निरीक्षण र अनुगमनको काम भइरहेको र यसलाई निरन्तरता दिइने बताए। गल्ती गर्ने फार्मेसीका विषयमा बेलुका मन्त्रालय र विभागसहितको टोलीले आवश्यक कारबाहीको निर्णय लिने उनले बताए।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले फार्मेसीको प्रभावकारी अनुगमन गरी प्रक्रिया नपुर्‍याइ सञ्चालन भएका, म्याद गुज्रिएका औषधि बिक्रीवितरण गरेको पाइएमा कडा कारबाही गरिने जानकारी दिए।

मन्त्री बस्नेतको नेतृत्वमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा लागुऔषध ब्युरोका प्रतिनिधि, विभागका कर्मचारीलगायतको सहभागिता थियो।

काठमाडौँ उपत्यकामा फार्मेसी अनुगमनका लागि साेमबार २० वटा टोली खटिएका थिए। देशभरका फार्मेसीको अनुगमनका लागि ७७ वटै जिल्लामा अनुगमन संयन्त्र बनाइएको र यसले निरन्तर अनुगमन गर्ने मन्त्रालयको भनाइ छ।

प्रकाशित: ८ साउन २०८० १६:३९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast