ज्याला बढाउन माग गर्दै चिया बगानका श्रमिक आन्दोलित

हिमाल प्रेस २ साउन २०८० १८:३३ | Tuesday, July 18, 2023
ज्याला बढाउन माग गर्दै चिया बगानका श्रमिक आन्दोलित प्रतिनिधिमूलक तस्बिर स्रोत : राष्ट्रिय चिया तथा कफी विकास बोर्ड

झापा- झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिकले ज्याला वृद्धिकाे माग राखेका छन्। नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक संगठित रूपमा आन्दोलित भएका हुन्।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले सरकारले ताेकेकाे न्यूनतम पारिश्रमिक नदिएका कारण बाध्य भएर आन्दाेलन गर्नुपरेकाे बताए। नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले बताए।

आफ्ना मागबारे असार ५ गते नै उद्योगीलाई अवगत गराइए पनि माग सम्बाेधन नभएकाे उनकाे भनाइ थियाे। माग सम्बाेधन नभएका कारण साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उनले बताए।

उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला पाँच सय ७७ रुपैयाँ पाउनुपर्छ। तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत चार सय ३७ रुपैयाँ मात्र दिइरहेका छन्। श्रमिक संगठनले नेपाल चिया उत्पादक संघ, साना किसान चिया सहकारी संघ, नेपाल चिया विकास निगम, शुभ चिया उद्योगलगायत संस्थामा आफ्नो मागबारे ध्यानाकर्षण गराउँदै आन्दोलनको जानकारी दिएका छन्।

श्रमिकले चिया बगान तथा प्रतिष्ठानमा एक सातासम्म कालो झण्डा राख्ने र त्यस बेलासम्म पनि माग सुनुवाइ नभए अर्को चरणको आन्दोलन घोषणा गर्ने उपाध्यक्ष राईले बताए। श्रम ऐन, २०७४ को दफा १० मा भएको व्यवस्थाबमोजिम सेवा र सुविधा हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा अनिवार्य समावेश गरिनुपर्ने, अनिवार्य श्रम सम्झौता गरिनुपर्ने र महंगी तथा अतिरिक्त कामका आधारमा भत्ता दिइनुपर्ने श्रमिक संगठनको माग छ। ‘चिया बगानका श्रमिकले अहिले पाइरहेको ज्यालाबाट बिहान बेलुकाको छाक टार्न पनि पुग्दैन,’ नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका केन्द्रीय उपाध्यक्ष राईले भने, ‘हरेक वर्ष आन्दोलन गर्नु परिरहेको छ। आन्दोलन सुरु भएपछि आश्वासन मात्र पाइएको छ। राज्यले बनाएका कानुनबमोजिम नै हामीले ज्याला पाउनुपर्छ भनिरहेका छौँ।’

दिनानुदिन महँगी बढिरहेको हुँदा सोही आधारमा २० प्रतिशत ज्याला वृद्धि हुनुपर्ने र हरियो पत्ति टिपाइमा ठेक्काभन्दा बढी पत्तिको डबलीको दर वृद्धि गर्नुपर्ने श्रमिकको माग छ। झापामा एक सय ३२ वटा साना चिया बगान र ६९ वटा ठूला तथा संस्थागत चिया बगान सञ्चालनमा छन्। झापामा लगभग दश हजार हेक्टरमा चिया खेती हुने गरेको छ। रासस

प्रकाशित: २ साउन २०८० १८:३३ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast