मापदण्ड विपरीतका होस्टेलमा इटहरी उपमहानगरको ताला

हिमाल प्रेस २६ असार २०८० २१:२३
16
SHARES
मापदण्ड विपरीतका होस्टेलमा इटहरी उपमहानगरको ताला

इटहरी- इटहरीस्थित एक निजी विद्यालयकाे होस्टलमा आइतबार राति सुतेकै स्थानमा एक जना विद्यार्थीको मृत्यु भएको घटनापछि इटहरी उपमहानगरपालिकाले विद्यालयका होस्टल अनुगमन गरेको छ ।

इटहरीको सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय जेनीस श्रेष्ठको मृत्यु भएपछि उपमहानगरपालिकाले इटहरी क्षेत्रका निजी तथा सामुदायिक विद्यालयका होस्टल अनुगमन गरेको हो।

इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेलको नेतृत्व मंगलबार (आज) पहिलो चरणमा होस्टलमै विद्यार्थीको मृत्यु भएको सेकेन्डरी माध्यमिक विद्यालयसहित पिसजोन आवासीय माध्यमिक विद्यालय, मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, ग्रिनपिस माध्यमिक विद्यालय र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयका होस्टल अनुगमन गरिएको हो।

अनुगमनका क्रममा सेकेन्डरी माध्यमिक विद्यालयको किचन र होस्टल अनुगमन गरिएको थियो। साे क्रममा किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था रहेको पाइएकाे थियाे। होस्टेल पनि आवश्यक मापदण्ड पूरा नगरिकन सञ्चालन गरेको उपमहानगर प्रमुख पौडेलले बताए।

मापदण्ड पूरा नगरिकन सञ्चालन गरिएको सेकेन्डरी माध्यमिक विद्यालयको होस्टेलमा तालाबन्दी गरिएकाे उपहानगर प्रमुख पाैडेलले जानकारी दिए।

पौडेलका अनुसार सेकेन्डरी माध्यमिक विद्यालयले अब मापदण्ड पूरा गरेपछि मात्रै होस्टेल सञ्चालन गर्न दिइनेछ। सेकेन्डरी माध्यमिक विद्यालयमा मृत्यु भएका जेनीस श्रेष्ठको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरी आफन्तले शव बुझेर मंगलबार दाहसंस्कार गरेका छन्।

यसैबीच, नगरप्रमुख पौडेल नेतृत्वको टोलीले पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको हाेस्टेल अनुगमन गर्दा केही सुधार गर्नुपर्ने विषयमा सुझाव समेत दिएकाे छ।

अनुगमनका क्रममा सुधार गर्नुपर्ने पक्ष उपमहानगरपालिकाको शिक्षा शाखासँग समन्वय गर्नुपर्ने बताइएको छ। यसैबीच पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई होस्टलमा राख्न नपाइने नियम समेत ल्याएको उपमहानगरले जानकारी दिएको छ।

उपमहानगर प्रमुख पौडेल, उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्ले लगायतकाे टोलीले विद्यालयहरूमा अनुगमन गरेका थिए ।

प्रकाशित: २६ असार २०८० २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =