काठमाडौँ- युरोपको प्रतिष्ठित फिल्म महोत्सव ‘द कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा नेपाली फिल्म ‘गुराँस’ वर्ल्ड प्रिमियर हुँदैछ। भोलि अर्थात् असार २० मा फिल्मको वर्ल्ड प्रिमियर हुनेछ। जसमा फिल्मकी अभिनेत्री मेनुका प्रधान र निर्देशक सौरभ राई सहभागी हुँदै छन्। चेक रिपब्लिकमा हुने फिल्म महोत्सवका लागि उनीहरूले त्यसतर्फ प्रस्थान गरेका छन्।
मेनुकाले पहिलोपटक कुनै अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिँदै छिन्। त्यसका लागि आफू उत्साहित भएको उनले बताइन्। ‘अन्तर्राष्ट्रिय महोत्सवमा यो मेरो पहिलो अनुभव हो,’ उनले भनिन्, ‘त्यसैले एकदमै खुसी छु। उत्सुक पनि छु। पढेको, सुनेको कुरा प्रत्यक्ष रूपमा हेर्न पाउँदा निकै खुसी लागेको छ।’
महोत्सवमा धेरैभन्दा धेरै फिल्म हेर्ने योजना उनले बनाएकी छन्। ‘फेस्टिभलमा टन्नै फिल्म हेर्न मन छ,’ उनले सुनाइन्, ‘गुराँस पनि हेरेको छैन। त्यो पनि हेर्न मन छ।’ ‘गुराँस’मा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको कथा छ। फिल्मले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको फिल्मलाई सौरभ राईले निर्देशन गरेका हुन्। लेखन पनि उनकै हो। फिल्मको कथा आफ्नै भोगाइमा केन्द्रित भएको निर्देशकले बताएका छन्।
‘केही समयअघि मेरो घरको कुकुर हरायो,’ उनले भने, ‘कुकुर हराएकोमा आमा एकदमै चिन्तित हुनुभयो। उहाँ कुकुरको खोजीमा निस्किनुभयो। आमाको त्यो खोजाइमा मैले बालिकाको कल्पना गरेर यो कथा तयार पारेको हुँ। जसरी गुराँस जंगलमा भएर पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै छ।’
फिल्ममा मेनुका गुराँसकी आमाको भूमिकामा छिन्। फिल्ममा आफ्नो भूमिका रोचक रहेको उनको भनाइ छ। ‘फिल्ममा आमा हो कि छोरी भनेर हेर्दिनँ, आफ्नो भूमिका हेर्छु,’ उनले भनिन्, ‘मन प¥यो भने काम गर्छु। यसमा मेरो भूमिका रोचक भएकैले गरेकी हुँ।’ फिल्मको छायांकन भारत, दार्जिलिङमा भएको हो।
‘द कार्लाेभी भेरी इन्टरनेसनल फिल्म फेस्टिभल’ मा भोलि हुने वल्र्ड प्रिमियरमा मेनुकामात्र नभई निर्देशक राई पनि सहभागी हुने छन्। मेनुका असार ३० मा नेपाल फर्किनेछिन्। फिल्ममा उनीसँगै तुलसी खवास, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ। फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन्। अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन्। उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’मा पनि काम गरेकी छिन्।
युरोपको प्रतिष्ठित फेस्टिभलमा नेपालको प्रतिनिधित्व हुनु कुराले आफू उत्साहित भएको फिल्मका निर्माता रामकृष्ण पोखरेलले बताए। ‘कान्स वा बर्लिनजस्तै यो पनि युरोपका लागि प्रतिष्ठित फेस्टिभल हो,’ उनले भने, ‘यो फेस्टिभलमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म सहभागी भएका थिएनन्। गुराँसले खाता खोलेको छ। हामी सम्पूर्ण टिम खुसी छौँ।’ फिल्म सिनेमा हलमा प्रदर्शनमा आउने÷नआउने कुरा अहिले नै भन्न नसकिने पोखरेलको भनाइ छ। ‘फिल्म हलमा पनि लाग्छ तर त्यसका लागि समय लाग्ला,’ उनले भने।
पोखरेल नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस फिल्म ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन्। उनको निर्माण रहेको सर्ट फिल्म ‘साइलेन्ट इको’ त्यसै विधाअन्तर्गत अस्करमा सिफारिसमा परेको थियो भने फिल्मले भारतमा ‘क्रिटिक्स च्वाइस अवार्ड’ जितेको छ।
कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देशक सौरभ राईले यसअघि ‘निम्तो’को निर्देशन गरेका छन्। नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट हुन सफल फिल्मले ‘मुम्बई फिल्म फेस्टिभल’मा जुरी अवार्ड जित्न सफल भएको थियो। ‘गुराँस’ले पनि निर्माणअगावै नेदरल्यान्डको ‘हुबेर्ट बल्स फन्ड’ जितिसकेको छ। त्यस्तै ‘हङकङ फिल्म मार्ट’को ‘वर्क इन प्रोग्रेस’ ल्याबमा पनि छनोट भएको थियो।

                                             
                                             
                                             
                                             
                                             
                                             

