काठमाडौँ- बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने प्रकरणमा मुछिएका थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई काठमाडौँबाट पक्राउ गरेको हो।
पक्राउ परेका पोखरेल समर्जिङ कम्पनिका तत्कालीन प्रमुख हुन् भने महर्जन नक्कली मोही हुन्। पोखरेल र महर्जनसहित यो प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ।
यो प्रकरणमा सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका हुन्। गुरुङलाई सीआईबीको टोलीले गत मंगबार पक्राउ गरेको हो।
त्यस्तै धर्मप्रसाद गौतम, सुधिर शाह र गोपाल कार्कीलाई पनि मंगलबार नै पक्राउ परेका हुन्। हिजो आइतबार सीआईबीले काठमाडौँ महानगरपालिकाका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन, नापी विभागका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।
ललिता निवास प्रकरणमा दोषी ठहर भएका उच्च तहका नेता, सरकारी कर्मचारी, व्यापारीलगायत गरी १७५ जनाविरुद्ध २०७६ मंसिरमा विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन छ। ललिता निवासको १३६ रोपनी जग्गा हिनामिना भएको छ।