काठमाडौँ– काठमाडौँमा आयोजित पिम नेपाल चलचित्र महोत्सव सम्पन्न भएको छ। जमलस्थित सांस्कृतिक संस्थानमा ३ दिनसम्म चलेको महोत्सवमा पहिलो नेपाली चलचित्रकी अभिनेत्री भुवन चन्दलाई दीर्घ साधना सम्मान प्रदान गरिएको छ।
प्रतिस्पर्धी चलचित्रतर्फ अभिनेता आर्यन सिग्देल (डिसेम्बर फल्स), अभिनेत्री प्रमिला कार्की (बगान), चलचित्र ‘प्रकाश’, निर्देशक सम्राट बस्नेत (लाखे), लेखक विकास सुवेदी (प्रकाश), भिएफएक्स समिर मियाले अवार्ड प्राप्त गरे।
महोत्सवमा निर्णायकतर्फको अवार्डसँगै छोटा चलचित्रतर्फको अवार्डसमेत प्रदान गरियो। निर्णायक मण्डलले चलचित्र ‘नम्बरी सुन’, निर्देशक कमल एक्चै मगर (डेसान) र लेखक रोहित रुम्बा (लाखे) लाई अवार्ड गर्न गरेका थिए।
समारोहमा चलचित्र क्षेत्रमा विशेष योगदान दिएवापत निर्देशक ऋषिराज आचार्य, अभिनेता तेज गिरी, चलचित्र पत्रकार सचित खड्कालगायतलाई सम्मान गरियो।
आयोजक संस्था पिम नेपालका अध्यक्ष एवम् चलचित्र निर्देशक माधवराज खरेलले महोत्सवमार्फत नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गरिरहेको बताए।
‘यस किसिमका महोत्सवले हाम्रो कला र संस्कृति मिश्रित चलचित्रलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजान मद्दत गर्छ। त्यसैले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौं,’ उनले भने।
महोत्सवको समापन समारोहमा संगीतकार शम्भुजित बासकोटा, अभिनेत्री वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नृत्य निर्देशक दिनेश पाख्रिनलगायत उपस्थित थिए।