इच्छाकामनामा श्रमदानबाट पुल निर्माण गरिँदै

हिमाल प्रेस १० असार २०८० ९:२९ | Sunday, June 25, 2023
इच्छाकामनामा श्रमदानबाट पुल निर्माण गरिँदै फाइल तस्बिर।

चितवन– चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका-७ को गर्दास र स्यांदी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

गाउँपालिका अध्यक्ष दान गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे। गाउँघरमा श्रमदान गरेर विकास निर्माणका काम गर्ने परम्परा हराउन थालेको भन्दै पालिकाले श्रमदानमा जुट्न स्थानीयलाई प्रोत्साहन गरेको उनले बताए।

श्रमदानका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दालाई आह्वान गरिएको उनले जानकारी दिए।

‘३० देखि ४० प्रतिशत श्रमदानबाट पुल निर्माणको काम गर्नेछौं,’ उनले भने, ‘प्राविधिक र निर्माण सामग्रीका लागि आवश्यक बजेट गाउँपालिकाले व्यवस्था गरेको छ।’

पुल निर्माणका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेको उनको भनाइ छ। असार महिनाभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको भन्दै उनले पालिकाले नियमित निगरानी गर्ने बताए।

यसअघि हरिपुर खोलामा राखिएको बेलीब्रिजको संरचना प्रयोग गर्ने गरी स्यांदी खोलमा पुल निर्माण गर्न लागिएको इच्छाकामना-७ का वडाध्यक्ष बम रानामगरले जानकारी दिए। हरिपुर खोलामा अहिले पक्की पुल निर्माण भइसकेको छ।

बेलीब्रिज राख्नका लागि वडावासीले श्रमदान गर्ने बताउँदै उनले पुल निर्माणपछि गर्दास र स्यांदीका बासिन्दा लाभान्वित हुने जानकारी दिए। हरेक वर्ष स्यांदी खोलामा आउने बाढीका कारण विद्यालय जाने विद्यार्थी र स्थानीयले सास्ती खेप्दै आएका छन्।

प्रकाशित: १० असार २०८० ९:२९ | Sunday, June 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast