काठमाडौँ- प्रदर्शनमा आउनुअघिदेखि नै आलोचना भइरहेको फिल्म ‘आदिपुरुष’को विवाद झन् चुलिएको छ।नेपालमा ‘भारत की बेटी सीता’ संवादका लागि विवादमा तानिएको फिल्ममाथि भारतमै पनि प्रतिबन्ध लगाउने माग भइरहेको छ। त्योसँगै फिल्मविरुद्ध दिल्ली उच्च अदालतमा याचिका पनि दायर गरिएको छ।
‘हिन्दू सेना’ नामक संगठनले सो याचिका दायर गरेको हो। साथै संगठनले फिल्ममा रोक लगाउने माग पनि गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्ममा धार्मिक चरित्रहरूलाई आपत्तिजनक तरिकाले देखाइएकाले त्यसविरुद्ध याचिका दायर गरेको ‘हिन्दू सेना’का अध्यक्ष विष्णु गुप्ताले बताएका छन्। ‘महर्षि बाल्मिकीको रामायणमा जस्ता पात्र छैनन् फिल्ममा, त्यसको विपरीत देखाइएको छ,’ अध्यक्ष गुप्ताले भनेका छन्, ‘फिल्ममा भगवान् राम र हिन्दू संस्कृतिको मजाक बनाइएको छ। त्यसले यसमाथि रोक लगाइयोस्।’
केन्द्रीय राज्यमन्त्री रेणुका सिंहले पनि छत्तीसगढमा फिल्ममा रोक लगाउने माग गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलसँग सो माग गरेकी हुन्। केन्द्रीय राज्यमन्त्री सिंहले फिल्ममा भएका केही दृश्यमा आपत्ति जनाएकी छन्।
‘फिल्म ‘आदिपुरुष’ जो रामायणमा आधारित छ, त्यसमा भगवान् श्रीराम, माता जानकी, वीर हनुमान र अन्य चरित्रलाई जसरी देखाइएको छ र भद्दा संवाद राखिएका छन्, त्यसले करोडौँ भारतीयको भावनामा आहत पुर्याएको छ। यस फिल्मलाई प्रतिबन्ध लगाइयोस्।’
भारतीय जनता पार्टीका प्रदेश अध्यक्ष अरुण सावले पनि छत्तीसगढमा ‘आदिपुरुष’माथि रोक लगाउने माग गरेका छन्। छत्तीसगढका मुख्यमन्त्रीले पनि फिल्मबारे ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘‘आदिपुरुष’बारे पढ्दा र सुन्दा अत्यधिक पीडा भइरहेको छ। सेन्सर बोर्डले कसरी यस्तो फिल्मलाई प्रमाणित गर्न सक्छ, जसले हाम्रो आस्थामाथि आघात गरोस्। केन्द्र सरकारले यसबारे जबाफ दिओस्।’
फिल्म जुन १६ मा प्रदर्शनमा आएको हो। ओम राउतका निर्देशन रहेको फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायत कलाकारको अभिनय छ। प्रदर्शनमा आउनेबित्तिकै फिल्म ट्रोल हुन थालेको थियो। फिल्मका चरित्रमाथि बनेका विभिन्न मिम्स सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
दर्शक फिल्मका निर्देशक, निर्माता र लेखकलाई गाली गरिरहेका छन्। त्यसमाथि फिल्मका संवाद लेखक मनोज मुन्तसिरले एक अन्तर्वार्तामा नेपाल भारतबाट सन् १९०३–०४ मा छुट्टिएको त्यसअघि भारतकै अंश रहेको भनेका छन्।
‘नेपालीहरूले किन विरोध गरिरहेका छन् मैले अझै बुझ्न सकेको छैन,’ भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दा उनले भनेका छन्, ‘यो त्यतिबेलाको कथा हो जतिबेला नेपाल भारतको एक अंश थियो। यदि हामीले सीतालाई भारतकी छोरी भनिरहेका छौँ भने नेपाल त्यतिबेला भारतबाट कहाँ अलग थियो। नेपाल त १९०३ वा १९०४ मा भारतबाट अलग भएको हो। त्यसअघि भारत नै थियो नेपाल। यस हिसाबले सीता भारतकी छोरी थिइन्।’
भारतले आज पनि नेपाललाई अलग नमान्ने उनको भनाइ छ। ‘यदि नेपालीहरूलाई कुनै आपत्ति छ भने मसँग कुरा गर्दा हुन्छ म उनीहरूलाई सम्झाउन सक्छु,’ उनले भनेका छन्,‘देशको हिसाबले अलग हुन सक्छ तर राष्ट्रको हिसाबले भारत र नेपाल आज पनि अलग छैनन्। राष्ट्रका हिसाबले हामी एक हौँ।’
उनको विवादस्पद अभिव्यक्तिले आगोमा घिउ थप्ने काम गरेको छ। ‘सीता भारतकी छोरी हुन्’ संवादबाट रिसाएका नेपाली मुन्तसिरको यस अभिव्यक्तबाट झनै आक्रोशित भएका छन्। सामान्यदेखि सेलिब्रिटीसम्मले सामाजिक सञ्जालमा असहमति जनाइरहेका छन्। उनको घोर भर्त्सना गरिरहेका छन्।
बालेनको चेतावनीपछि भारतीय पक्षले हटायो‘आदिपुरुष’को विवादित डाइलग