देवराज सिम्खडाको आधा दर्जन बालपुस्तक लोकार्पण

हिमाल प्रेस २ असार २०८० ८:१८ | Saturday, June 17, 2023
देवराज सिम्खडाको आधा दर्जन बालपुस्तक लोकार्पण

काठमाडौँ– बालसाहित्यकार देवराज सिम्खडाको ६ वटा बालकविता संग्रह एकसाथ लोकार्पण गरिएको छ। ‘हाम्रो दिवस’, ‘हाम्रो जलसम्पदा’, ‘हाम्रा महिनाहरू’, ‘मामाघरमा एकदिन’, ‘साथी’ र ‘हाम्रा चाडपर्व’ बालपुस्तक शुक्रबार सार्वजनिक गरिएको हो।

टोखानगरपालिकास्थित सरस्वती माविको प्रांगणमा भएको कार्यक्रममा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर मुरारी तामाङ, शिक्षा प्रमुख खगेन्द्र सिंह धामी, बालसाहित्यकार छायादत्त न्यौपाने र मनमैजु सांस्कृतिक समाजका अध्यक्ष ध्रुवराज खड्कालगायत विद्यालयका विद्यार्थीहरूले पुस्तक लोकार्पण गरेका हुन्।

लोकार्पित ‘हाम्रा जलसम्पदा’ पुस्तकमा नेपाली भूगोलमा रहेका विभिन्न तालहरूको परिचय दिइएको छ।

‘हाम्रा महिनाहरू’ मा १२ महिनाको चिनारी गरिएको छ। ‘हाम्रा चाडपर्व’ पुस्तकमा नेपालीहरूले मनाउने प्रमुख चाड तीज, दसैं, ल्होछारलगायत पर्वहरूको चर्चा गरिएको छ। यस्तै नेपालमा मनाइने सहिद दिवस, आमा दिवस, संविधान दिवसलगायतबारे पुस्तक ‘हाम्रा दिवस’मा उल्लेख छ।

लेखक सिम्खडाले पुस्तक कोभिडको समयमा लेखेको जानकारी दिए। सूचना प्रविधि विकासले अहिलेको पुस्ता विकृतितर्फ लागिरहेको बताउँदै साहित्यकार सिम्खडाले सबै बालबालिकाहरूलाई देशको असल नागरिक बनाउन सानैदेखि राम्रो साहित्यको अध्ययन गराउन आवश्यक रहेको बताए।

कार्यक्रममा प्रमुख अतिथि टोखा मेयर अधिकारीले साहित्यलाई समाजको ऐनाको रूपमा चिनाउँदै आएको उल्लेख गरे। साहित्यले देशलाई सही बाटोमा हिँडाउन महत्त्वपुर्ण भूमिका खेल्ने र बालसाहित्यले समाज विकासको मार्गदर्शन गर्दछ भन्ने उनको भनाइ छ।

पुस्तकबारे चर्चा गर्दै राम्जी भण्डारीले कृतिमा प्रकृति-मानव सम्बन्धलाई व्याख्या गर्न खोजिएको बताए। बालबालिकाले बुझ्ने भाषामा देश चिनाउनको लागि यी पुस्तकहरू उपयोगी रहेको उनले जनाए। पुस्तकमा बालबालिकाले बुझ्न सक्ने सरल र शिल्प शैली प्रयोग गरिएको उनले बताए।

प्रकाशित: २ असार २०८० ८:१८ | Saturday, June 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast