खानीखोलामा तटबन्ध बनाइँदै, ७० घर सुरक्षित हुने

हिमाल प्रेस ३१ जेठ २०८० १२:१० | Wednesday, June 14, 2023
खानीखोलामा तटबन्ध बनाइँदै, ७० घर सुरक्षित हुने फाइल तस्बिर।

तनहुँ– आँबुखैरेनी गाउँपालिका-२ स्थित खानीखोला क्षेत्रका बस्ती जोगाउन तटबन्धन निर्माण भएको छ। भू-तथा जलाधार व्यवस्थापन कार्‍यालय र मुग्लिन-पोखरा पूर्वी सडक आयोजनाको संयुक्त सहयोगमा तटबन्ध निर्माण गरेको हो।

तटबन्धकार्यपश्चात त्यस क्षेत्रका झन्डै ७० घरधुरीको संरक्षण भएको वडाध्यक्ष आश गुरुङले जानकारी दिए। वर्षायाम सुरु भएसँगै त्यस क्षेत्रका मानिस रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेकाले तटबन्ध निर्माणपश्चात समस्या हटेको उनले बताए।

आर्थिक वर्ष ०७९/८० मा गण्डकी प्रदेश सरकार पूर्वमन्त्री हरि चुमानको पहलमा बस्ती संरक्षणका लागि ८ लाख विनियोजन भएको हो। वडाध्यक्ष गुरुङको पहलमा मुग्लिन-पोखरा पूर्वी सडक आयोजनाले १ सय २० र गण्डकी प्रदेश सरकारले ५० मिटर तटबन्ध गरेको खानीखोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णविक्रम थापाले जानकारी दिए।

उक्त क्षेत्रमा करिब १५ मिटर गहिराइ र ३० मिटर उचाइको पर्खाल निर्माण गरिएको छ। ‘खोलामा आउने बाढीबाट कटान रोक्न पर्खाल लगाएका र नलगाएका क्षेत्रमा ठूला-ठूला ढुंगा राख्ने योजना बनाएका छौं,’ उनले भने।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पहलमा प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो। उक्त क्षेत्रमा अझै संरक्षण गर्नुपर्ने भएकाले सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने योजना बनाइएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए।

कृषकलाई घार

यस्तै गाउँपालिका कार्‍यालयले १ वडा, १ उत्पादन कार्यलाई प्रोत्साहन गर्न ७५ प्रतिशत अनुदानमा कृषकलाई माहुरीको घार वितरण गरेको छ। गाउँपालिकाका अध्यक्ष चुमानले १ सय १८ वटा माहुरीको घार वितरण गरेका हुन्।

प्रकाशित: ३१ जेठ २०८० १२:१० | Wednesday, June 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast