‘अस्थिर’ माधव नेपाल : दिनैपिच्छे फरक अभिव्यक्ति

हिमाल प्रेस २९ जेठ २०८० १८:३६ | Monday, June 12, 2023
‘अस्थिर’ माधव नेपाल : दिनैपिच्छे फरक अभिव्यक्ति फाइल तस्बिर।

काठमाडौँ- पछिल्लो समय सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्थिर बनेका छन्। सत्ता गठबन्धन भत्कने चेतावनी दिनु, कहिले गठबन्धन कायमै राख्नुपर्ने र नेकपा ब्युँताउनुपर्ने जस्ता फरकफरक अभिव्यक्ति दिएर उनले आफ्नो अस्थिर चरित्र प्रदर्शन गरेका हुन्।

उनले सोमबार सत्ता गठबन्धनका शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए भने आइतबार बजेट नसच्याए सरकार ढल्ने चेतावनी दिए। यस्तै शनिबार नेकपा ब्युँताउनुपर्नेमा जोड दिएका थिए।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूका बीचका धारामा केही मतान्तर हुनु स्वाभाविक रहेको बताए। मुलुकमा सत्ताधारी र विपक्षी गठबन्धन अस्तित्वमा रहेको उनका भनाइ छ।

सत्ताबाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्‍याउने शक्तिहरु र संघीयतामाथि विश्वास नगर्ने मात्र नभई संघीयता समाप्त पार्ने शक्तिहरु रहेको उनको दाबी छ। तर सत्ता गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको उनी बताउँछन्।

अध्यक्ष नेपालले भने, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ। गठबन्धनका घटकहरुका बीचका धारामा केही केही मतान्तर पनि हुन सक्ला। तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ। हिलेको गठबन्धन लोकतान्त्रिक हो, प्रगतिशील हो।’

उनले कमीकमजोरीप्रति आँखा चिम्लेर नबस्ने बताए। नेपालले भने, ‘कमीकमजोरीमा बग्ने, समर्थन गर्ने पनि होइन, लतारिने पनि होइन, किनभने एकता र संघर्ष चलिरहन्छ। अत्ताधारी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन।’ अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए।

नेपालले आइतबार भने बजेट यथास्थितिमा पास भए सरकार ढल्ने चेतावनी दिएका थिए। सरकारमा उनको दलबाट दुई जना मन्त्री छन्।  उनले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिएका हुन्।

बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको आरोप नेपालको थियो। पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ। यद्यपि नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरू बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा शंका उत्पन्न भएको छ।

नेता नेपालले भने, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ कि जस्तो पनि लाग्छ। सरकार दुर्घटनामा जान्छ।’ उनले त्यस्तो अवस्थामा नजाओस् भन्नेमा प्रधानमन्त्री, अर्थमन्त्रीको ध्यान जानुपर्नेमा जोड दिए।

अध्यक्ष नेपालले शनिबार भक्तपुरमा नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेकपा ब्युँताउन तयार रहेको बताएका थिए।
‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैनौँ। कसैकसैलाई लागेको छ, एमाले। एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ,’ उनले भने, ‘प्रचण्डजीलाई म भन्छु आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन्रु नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि ब्युँताऔँ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुर्सीबाट हट्न नचाहेर ७० वर्षे उमेर हद हटाएको अरोप लगाए। आफू ७० वर्ष उमेर कटेको खण्डमा पार्टीको पद लिएर नबस्ने पनि दाबी नेपालको छ।

प्रकाशित: २९ जेठ २०८० १८:३६ | Monday, June 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast