रामहरि खतिवडा। फाइल तस्बिर : दिपेश श्रेष्ठ
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्लाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन्।
आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसद्मा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्ने उल्लेख गरे।
सांसद खतिवडाले महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको जलहरी प्रकरणबारे आफूहरूले संसदमा फेरी पनि कुरा उठाउने बताए।
उनले भने, ‘प्रतिपक्ष यस्तो अनम्याच्युअर छ। एक छिन जुरुक्क उठेर संसद्तिर घेर्न पुग्छ। किन भन्दा जलहरीको सुन हरायो रे। ए बाबा, महालेखाको प्रतिवेदनमा हरायो भनेकै छ। महालेखाको प्रतिवेदन सबै सांसदको हातहातमा दिएको छ। त्यो बारेमा छलफल गर्नै छ।’
खतिवडाले संसारकै देउता पशुपतिनाथको मन्दिरमा राख्न लागेको सुन त बदमासी गर्नेले देशलाई के गर्लान्? भन्दै प्रश्न गरे। उनले भने, ‘कसले गर्यो म भन्दिनँ। कुन प्रधानमन्त्रीले सुनको कोट लगाउनु भयो, कुन मन्त्रीले लगाउनुभयो? सुनैसुनको लुगा लगाएर को हिँडनु भयो, त्यतातिर भन्दिनँ। तर बदमासीको छानबिन गर हामीले भनेको हो। त्यो भन्दा उहाँहरू फेरि संसद् घेर्न जानु हुन्छ।’




