अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको पहिलो हवाई यात्रा

सन्तोष खडेरी २७ जेठ २०८० ७:०७
1.3k
SHARES
अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको पहिलो हवाई यात्रा नयाँदिल्लीमा मोहनशमशेरलाई स्वागत गर्दै जवाहरलाल नेहरू (बायाँ)।

सन् १९४७ अगस्टमा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भएको करिब अढाई वर्षपछि सन् १९५० मा श्री ३ महाराज एवं प्रधानमन्त्री मोहनशमशेर जबराले भारतको राजकीय भ्रमण गरेका थिए। त्यसो त सन् १९४८ मा प्रधानमन्त्री पद्मशमशेरले भारत भ्रमण गरे पनि त्यो औपचारिक भ्रमण थिएन। उपचारका लागि भारत पुगेका उनको व्यक्तिगत आग्रहमा दिल्लीमा तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू र भाईसराय एवं गभर्नर जनरल लर्ड माउन्टब्याटनसँग भेट भएको थियो।

सन् १९४८ फेब्रुअरीमा पद्मशमशेरले चन्द्र, जुद्ध सन्तानसँगै अन्य रोलवाला राणाहरूको दबाबमा बाध्य भएर नफर्किने गरी नेपाल छाडेका थिए। प्रधानमन्त्रीबाट राजीनामा भने गरेका थिएनन्। उनी भारत जाँदा प्रधानमन्त्रीकै हैसियतमा थिए। पद्मशमशेरलाई गभर्नर जनरल लर्ड माउन्टब्याटनले गभर्नर हाउसमा र प्रधानमन्त्री नेहरूले त्रिमूर्ति हाउसमा स्वागत गरेका थिए। तत्कालीन उपप्रधान एवं गृहमन्त्री सरदार बल्लभभाई पटेललाई भने पद्मशमशेरले पटेल उपचारत: अस्पतालमै भेटेका थिए।

भारत स्वतन्त्र भएको केही समयपछि सोही अक्टोबरमा पद्मशमशेरले नेहरूलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए। लर्ड माउन्टब्याटन सन् १९४६ मा दोस्रो विश्वयुद्धमा दक्षिणपूर्वी एसिया क्षेत्रका सुप्रिम कमान्डर रहँदा पुर्‍याएको योगदानबापत नेपालले उनलाई पहिलो दर्जाको नेपाल ताराको तक्मा प्रदान गरेको थियो। सोही तक्मा ग्रहण गर्न उनी काठमाडौँ आएका थिए। उनी भारतबाट सिमरासम्म विमानमा र त्यहाँबाट भीमफेदीको बाटो हुँदै काठमाडौँ आएका थिए।

पद्मशमशेरले नेहरूलाई त्यही बाटो हुँदै नेपाल आउन सुझाएका थिए। जवाफमा नेहरूले आफू नेपाल जान इच्छुक रहेको तर केही साता कंग्रेस अधिवेशन र संविधानसभाको बैठक चलिरहेकाले व्यस्त रहेको भन्दै समय मिलेमा भ्रमण गर्ने आश्वासन दिएका थिए। (भारतस्थित नेपाली कार्यवाहक राजदूत दमनशमशेर र काठमाडौँमा प्रधानमन्त्री पद्मशमशेर बीचको पत्राचार) तर त्यतिबेला नेहरूले नेपाल भ्रमण गरेनन्। त्यस्तै पद्मशमशेरले पनि नेहरूबाट औपचारिक भारत भ्रमणको निमन्त्रणा पाएनन्। पछि अनौपचारिक रूपमा पद्मशमशेरले दिल्लीमा नेहरूलाई भेटेका हुन्।

पद्मशमशेरले भारतबाट राजीनामा पठाएपछि ३० अप्रिल १९४८ मा मोहनशमशेर प्रधानमन्त्री एवं श्री ३ महाराज घोषित भए। भारतले नेपालसँग एक छुट्टै सन्धि गर्ने विषय पद्मशमशेरकै समयमा उठेको थियो। तर अघि बढ्न सकेन।

मोहनशमशेर प्रधानमन्त्री भएपछि सोही २५ जुनमा उनले नेपालका लागि भारतीय राजदूत सरदार सुरजित सिंह मजेठियासँग नेपाल र भारतका बीचमा नयाँ सन्धिका लागि छलफल अगाडि बढाउनुपर्ने विषय उठान गरेका थिए। अनि मात्र नेपालसँग सन्धि गर्ने विषयले गति लिएको थियो। यसै सन्दर्भमा सन् १९४९ को नोभेम्बरमा आमाको उपचारका लागि बम्बई गएका नेपालका परराष्ट्र मामिला डाइरेक्टर एवं प्रधानमन्त्री मोहनशमशेरका छोरा विजयशमशेरले भारतका अधिकारीहरूसँग छलफल र भेटघाट तीव्र बनाएका थिए।

बम्बईमा प्रधानमन्त्री नेहरूसँगको भेटपछि उनी नेहरूको आग्रहमा दिल्ली पुगेर सबैसँग भेट गरेका थिए। विजयशमशेर दिल्ली पुग्दा नेपालस्थित भारतीय राजदूत सीपीएन सिंह सँगै थिए। नेहरूले प्रधानमन्त्री मोहनशमशेरलाई जनवरीमा भ्रमण गर्ने गरी निमन्त्रणा दिएका थिए। मोहनशमशेरले उक्त निमन्त्रणा तत्काल स्वीकार गरेका थिए। भारतीय प्रेसको रबैया त्यतिबेलैबाट नेपालविरुद्ध अफवाह फैलाउँदै नेपाललाई दबाबमा राख्ने थियो।

त्यसबारे यहाँ एउटा प्रसंग सान्दर्भिक छ। नेपालले पाकिस्तानसँग एउटा गोप्य सम्झौता गरिसकेको छ भन्ने अफवाह भारतीय प्रेसले फैलाएका थिए। उक्त खबरलाई विजयशमशेरले आधारहीन भन्दै खारेज गरिदिएका थिए। (दी इन्डियन एक्स्प्रेस, २८ डिसेम्बर १९४९) भारतले आफूसँग तत्काल सन्धि गर्न बाध्य बनाउने रणनीतिक योजनाअन्तर्गत पनि पाकिस्तानसँग जोड्दै त्यो अफवाह फैलाएको हुन सक्छ।

जनवरी दोस्रो हप्तासम्म मोहनशमशेरको भ्रमण हुन सकेन। २६ जनवरीपछि मात्र भ्रमण तय भएको थियो। सन् १९४७ को १५ अगस्टमा स्वतन्त्र भए पनि सन् १९५० को २६ जनवरीमा संविधान कार्यान्वयनमा आएपछि सोही दिनबाट भारतलाई गणराज्य घोषित गरिएको थियो। भारतीय अधिकारीहरू उक्त समारोहमा व्यस्त हुने भएपछि मोहनशमशेरको भारत भ्रमण केही ढिलो भएको थियो।

उनको राजकीय भारत भ्रमणको मिति १७ फेब्रुअरी १९५० का लागि निश्चित भयो। ७९ जनाको टोलीसहित रक्सौलबाट विशेष रेलमा सवार भएर मोहनशमशेर दिल्ली पुगेका थिए। १७ फेब्रुअरीमा बिहान १०:३० बजे दिल्ली रेलवे स्टेसनमा ओर्लिएका उनलाई भारतका प्रधानमन्त्री जवाहरलाल नेहरू र रक्षामन्त्री बलदेव सिंहले स्वागत गरेका थिए। उनको सम्मानमा २१ तोपको सलामी प्रदान गरिएको थियो। (दी बम्बे क्रोनिकल, १८ फेब्रुअरी १९५०)

त्यसअगाडि ब्रिटिस उपनिवेशकालीन भारत भ्रमण गर्ने नेपालका प्रधानमन्त्रीलाई १९ तोपको मात्र सलामी दिने प्रचलन थियो। नेपालमा पनि श्री ५ महाराजाधिराजलाई २१ तोपको र श्री ३ महाराजलाई १९ तोपको सलामी दिने व्यवस्था थियो। प्रधानमन्त्री भएपछि मोहनशमशेरले आफूलाई दुई तोप बढाउँदै २१ र आफूपछिका कम्यान्डर इन चिफ बबरशमशेरको सलामी १९ पुर्‍याएका थिए। आफूलाई नेपालमा जस्तै  २१ तोपको सलामी दिनुपर्ने माग गरेपछि भारत सरकारले उनलाई उक्त सलामी दिएको थियो।

मोहनशमशेर पहिलोपटक विमानमा उडेको समाचार छापिएको सिभिल एन्ड मिलिटरी गजेट लाहोरको २३ फेब्रुअरी १९५० को समाचार अंश र मोहनशमशेरलाई दिल्लीमा गरिएको स्वागत।

मोहनशमशेरलाई भारतमा हैदरबाद हाउसमा बस्ने बन्दोबस्त गरिएको थियो। हैदरबाद हाउसमा बस्ने पहिला श्री ३ जुद्धशमशेर हुन्। सन् १९३५ मा आफ्नो औपचारिक दिल्ली भ्रमणका क्रममा उनी त्यहाँ बसेका थिए।

मोहनशमशेरले दिल्ली पुगेको भोलिपल्ट गभर्मेन्ट हाउसमा राष्ट्रपति डा. राजेन्द्रप्रसाद र तीनमूर्ति हाउसमा प्रधानमन्त्री जवाहरलाल नेहरूसँग भेट गरेका थिए। उनीहरूबीच एक्लाएक्लै (वान अन वान) ९० मिनेट कुराकानी भएको सरदार भीमबहादुर पाँडेले उल्लेख गरेका छन्। तर उक्त भेटघाटमा केके छलफल भयो भनी हालसम्म पनि सार्वजनिक भएको छैन। दिल्ली भ्रमणका क्रममा मोहनशमशेरलाई भारतीय सेनाको मानार्थ जनरलको तरबार, टोपी र किरिच प्रदान गरिएको थियो। प्रधानमन्त्री स्तरमा चाँडोभन्दा चाँडो सन्धि गर्ने निर्णय पनि भएको थियो।

दिल्ली भ्रमणका क्रममा सोही २२ फेब्रुअरीका दिन मोहनशमशेर पहिलोपटक विमानमा उडेका थिए। भारतीय वायुसेना प्रमुखमा (एअर मार्सल) मा थोमस एल्म्हर्स्ट थिए। उनी सेवा निवृत्त हुनै लागेका थिए। उनको ठाउँमा नयाँ एअर मार्सलमा रोनाल्ड सिफारिस भइसकेका थिए। मोहनशमशेरलाई भारतीय वायुसेनाको ‘डेभोन’ विमानमा राखेर उनै थोमसले आकाशमा केही समयसम्म उडाएका थिए। उनले ककपिटसम्म पुगेर सबै पक्षको चाखपूर्वक अवलोकन गरेका थिए। उनलाई ककपिटमा उक्लन गाह्रो भएपछि स्क्वार्डन लिडर डोग्राले सहयोग गरेका थिए। मोहनशमशेरलाई त्यहाँ भारतीय वायुसेनाले अन्य केही सैन्य आक्रमणको अभ्याससमेत देखाएको थियो। त्यस्तै उनले त्यहाँ रहेका भौतिक संरचनाको अवलोकन गर्न पाए। (सिभिल एन्ड मिलिटरी गजेट, लाहोर, २३ फेब्रुअरी १९५०)

मोहनशमशेरले आफूलाई विमानमा उडाउने एअर मार्सलमा थोमस एल्म्हर्स्टलाई एउटा खुकुरी र चाँदीको बुट्टेदार फ्रेममा आफ्नो तस्बिर उपहार दिएका थिए।

मोहनशमशेर भारत भ्रमणका क्रममा विमानमा उड्नुभन्दा पहिले उनी विमानमा उडेका थिएनन्। किनकि त्यतिबेला सम्म नेपालमा औपचारिक उडानको सुरुवात भइसकेको थिएन।

नेपालमा पहिलोपटक सन् १९४५ को जनवरीमा ब्रिटिस भारतका तत्कालीन भाईसराय एवं गभर्नर जनरल लर्ड वाभेल सवार विमान चितवनको झुवानीमा अवतरण भएको थियो। उनी नेपालमा सिकार खेल्न आएका थिए। त्यस्तै दोस्रोपटक दक्षिण पूर्वीएसिया क्षेत्रका सुप्रिम कमान्डर लर्ड माउन्ट ब्याटन (औपनिवेशिक भारतका अन्तिम अंग्रेज भाईसराय एवं गभर्नर जनरल) भारतबाट सिमरामा अवतरण भएका थिए।

काठमाडौँमा सन् १९४९ को २३ अप्रिल र ८ जुनमा दोस्रो पटक विमान अवतरण भएको  थियो। मोहनशमशेरको भारत भ्रमणपछि भने सन् १९५० मा धेरै पटक विमान आएका थिए। मोहनशमशेर सन् १९०८ मा पिता चन्द्रशमशेरको भ्रमण दलमा सहभागी भई बेलायत, फ्रान्स र युरोपको भ्रमण गरे पनि त्यतिबेला उनीहरू पानीजहाज र रेलमा सवार भएका थिए।

भारतीय नेताहरूसँग मोहनशमशेर जबरा। (बीचमा)

सन् १९४९ को सुरुदेखि नै काठमाडौँको गौचर (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) मा हवाईअड्डा बनाउन सुरु भएको थियो। गौचरमा सन् १९४९ मा उल्लिखित दुई विमान ओर्लिएका थिए। मोहनशमशेरको भारत भ्रमणभन्दा करिब एक महिनाअगाडि जनवरी १९५० मा भारतीय प्रधानमन्त्री नेहरूले नेपालमा बन्न लागेको हवाईअड्डाका बारेमा जिज्ञासा राखेका थिए। दिल्लीस्थित नेपाली राजदूत कमान्डिङ जनरल सिंहशमशेर जबरासँगको भेटमा नेहरूले भनेका थिए, ‘तपाईँहरूले बनाउन लागेको हवाईअड्डा तयार भइसक्यो कि के छ? त्यहाँ विमान ओर्लिन सुरु भएपछि मलाई पनि हवाईजहाजमा काठमाडौँ पुगेर नेपाल हेर्ने इच्छा छ।’ जवाफमा राजदूतले हवाईअड्डा निर्माणकै क्रममा रहेको र तयार भइसकेपछि नेपालका प्रधानमन्त्री काठमाडौँमा स्वागत गर्न आतुर रहेको बताएका थिए। (भारतस्थित नेपाली राजदूतावास र काठमाडौँमा प्रधानमन्त्री कार्यालय सिंहदरबारबीचको पत्राचार)

राणाकालभर भारतीय प्रधानमन्त्री नेहरूको नेपाल भ्रमण हुन सकेन। २००७ सालको राजनीतिक परिवर्तनपछि सन् १९५१ जुनमा नेहरू नेपाल भ्रमणमा आए। उनी भारतीय वायुसेनाको विमानमा आएका थिए। त्यस्तै राणा-कांग्रेस संयुक्त मन्त्रिमण्डलमा समस्या आएपछि सन् १९५१ को मेमा राणाको नेतृत्व गरेका मोहनशमशेर र कांग्रेसको नेतृत्व गरेका बीपी कोइरालाहरू नेहरूसँग छलफल गर्न दिल्ली गएका थिए। (दी रोयल बरमुडा गजेट, ९ मे १९५१)

त्यतिबेला उनीहरू हवाईजहाजमै दिल्ली गएका थिए। नेपालमा सन् १९५० को अक्टोबरमा व्यावसायिक हवाई उडानको सुरु भएको थियो। तर वर्षात्, काठमाडौँको मौसम र राणाविरुद्ध नेपाली कांग्रेसको सशस्त्र आन्दोलनका कारण राणाकालमा विमान नियमित हुन सकेन। प्रजातन्त्र आएपछि भने नेपालमा इन्डियन नेसनल एअरवेजबाट कलकत्ता-पटना-काठमाडौँ नियमित व्यावसायिक उडान सुरु भएको थियो। सन् १९५१ नोभेम्बरमा मोहनशमशेर कांग्रेस-राणा संयुक्त मन्त्रिमण्डलको प्रधानमन्त्रीबाट राजीनामा  गरी विमानमै भारत लागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast