
काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी जनताबाट टाढिएको बताएका छन्। शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले अन्य सार्वजनिक संस्थाको जस्तै कांग्रेसको पनि किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने दिन आएको बताए।
उनले जनतासँग जोडिने कार्यक्रम आवश्यक भएको बताए। ‘हाम्रासामु चुनौतीको चाङ छन्। पार्टी अधिवेशन, स्थानीय निर्वाचन, आम निर्वाचन र उपनिर्वाचनले हाम्रा चुनौती र अवसरलाई स्पष्ट गरिदिएको छ,’ कोइरालाले भने, ‘हामी यतिबेला जनतासँग टाढिएका छौँ। यो दुःखद् कुरा हो। जनतासँग जोडिने कार्यक्रम ल्याउनु अहिलेको पहिलो आवश्यकता हो।’
नेता कोइरालाले पार्टीको आन्तरिक सुशासन, लोकतन्त्रको स्थिति र हाम्रो जनताको बीचको स्थितिलाई सही ढंगले जोड्न नसके पार्टीले औचित्य गुमाउने बताए।
‘नेपाली कांग्रेस यस मुलुकको अग्रणी राजनीतिक पार्टी हो। यसको ऐतिहासिक विरासत र रोमाञ्चित यात्राको गाथा कसैबाट लुकेको छैन,’ उनले भने, ‘तर अहिले हरेक सार्वजनिक संस्था जस्तै हाम्रो दल किन र कसका लागि भन्ने औचित्य पुष्टि गर्नुपर्ने बेला भएको छ।’