‍बाबुरामको राजनीतिक प्रतिवेदन : नयाँ शक्ति घोषणा गरेर गल्ती गरिएछ [पूर्ण पाठसहित]

हिमाल प्रेस २५ जेठ २०८० १५:५३ | Thursday, June 8, 2023
‍बाबुरामको राजनीतिक प्रतिवेदन : नयाँ शक्ति घोषणा गरेर गल्ती गरिएछ [पूर्ण पाठसहित]

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नयाँ शक्ति घोषणा गर्दा हतारमा गरेर अहिले धोका पाइएको बताएका छन्।

बिहीबारदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले गल्ती स्वीकारेका हुन्।
‘२०७३ जेठ ३०–३१ गते काठमाडौँको दशरथ रंगशालामा देशभरिका करिब एक लाख सदस्य र समर्थकको उपस्थितिमा पार्टी स्थापनाको घोषणा गर्‍यो,’ भट्टराईको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘त्यसपछि त्यो नयाँ शक्ति अभियान र पार्टीको आकर्षण देखेर विभिन्न प्रवृत्ति र पात्रहरू बेरोकटोक त्यस अभियानमा प्रवेश गरे। अभियानका नेतृत्वकर्ताहरू स्वयंमा निजी आकांक्षाहरू पलाउन थाले र नयाँ शक्ति अभियानले बाटो बिराउन थाल्यो। अहिले फर्केर हेर्दा र निष्कर्ष मूल्यांकन गर्दा त्यसरी हतारमा पार्टी घोषणा गर्नु नै पहिलो गल्ती थियो।’

भट्टराईले नयाँ वैकल्पिक शक्ति भन्ने तर अन्य पुरानै दलहरूसँग चुनावी तालमेल गर्नु पनि गलत कदम भएको आत्मालोचना गरेका छन्। उनले भनेका छन्, ‘२०७४ को फरक–फरक चरणमा भएका तीनै तहका चुनावमा आफ्नै चुनाव चिह्न र स्वतन्त्र अस्तित्वसहित सहभागी हुनुपर्नेमा अन्यथा गर्नु अर्को ठूलो गल्ती भयो।’

स्थानीय चुनावमा तत्कालीन सत्तामा रहेकाहरूले नयाँ पार्टीहरूलाई चुनाव चिह्न नै नदिएर घेराबन्दी गरेको उनको आरोप छ। त्यसबेला स्वतन्त्र चिह्नबाट चुनाव नलड्नु पनि गल्ती भएको भट्टराईको भनाइ छ।

यतिमात्रै होइन भट्टराईले पार्टी एकता गर्नु पनि गल्ती भएको भनेका छन्। ‘२०७४ को आमनिर्वाचनको मिश्रित अनुभवपछि नयाँ वैकल्पिक शक्ति निर्माण अभियानलाई पुनः नयाँ शिराबाट अघि बढाउने महत्वपूर्ण पहलहरू भए,’ उनले भने, ‘तीमध्ये वैचारिक रूपमा २०७४ फागुनमा बुद्ध जन्मस्थल लुम्बिनीबाट जारी गरिएको ‘लुम्बिनी–संकल्प २०७४’ र व्यावहारिक रूपमा २०७५ माघ १५ देखि फागुन १५ सम्म गरिएको पूर्वको चिवा भञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्मको ‘मध्यपहाडी यात्रा’ विशेष महत्वका थिए।’

प्रकाशित: २५ जेठ २०८० १५:५३ | Thursday, June 8, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast