नक्कली शरणार्थी प्रकरण : अभियुक्तसँग अदालतमा आजदेखि बयान

हिमाल प्रेस १२ जेठ २०८० १०:४७ | Friday, May 26, 2023
नक्कली शरणार्थी प्रकरण : अभियुक्तसँग अदालतमा आजदेखि बयान शरणार्थी प्रकरणमा थुनामा रहेका खाण र रायमाझी।

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूको आज (शुक्रबार) बाट बयान लिन सुरु हुँदैछ। उक्त प्रकरणमा १६ जना पक्राउ परेका छन्। मुद्दा दायर गरिएकामध्ये १४ जना फरार छन्। पक्राउ परेकाहरूको आजदेखि जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिन लागिएको हो।

बयान सकिन केही दिन लाग्ने देखिन्छ। बयान सकिएपछि मात्रै थुनछेक बहस सुरु हुन्छ। त्यसपछि अभियुक्तलाई थुनामा राख्ने वा धरौटीमा छोड्ने भन्ने आदेश अदालतले दिनेछ।

उक्त प्रकरणमा सरकारी वकिलको कार्यालयले बुधबार ३० जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा अभियोगपत्र दर्ता गरेको थियो। एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वसभासद् आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत पक्राउ परेका छन्।

भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ ठगी गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको थियो।

प्रतिवेदनमा आफूखुसी ‘दर्ता छुट’ र ‘तेस्रो देशमा पुनःस्थापना चाहने’ अनुसूची थपी ८७५ नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम असुल गरेको आरोप उनीहरूमाथि छ।

उनीहरूविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहितविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ।

प्रकाशित: १२ जेठ २०८० १०:४७ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast