मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना [फोटो फिचर]

हिमाल प्रेस १२ कार्तिक २०७९ ४:५९ | Saturday, October 29, 2022
मिथिलाञ्चलमा छठको रौनक, आज दोस्रो दिन खरना [फोटो फिचर]

सिरहा- तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आज खरना गरिँदै छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधि गरिएको छ। सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लामा भव्य रूपमा भइरहेको छ।

मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरेर स्नान गरेर चोखो खाने गर्छन्। पहिलो दिनको यो विधिलाई स्थानीय बोलीचालीको भाषामा ‘नहाय-खाय’ भनिन्छ। पर्वको दोस्रो दिन आज (शनिबार) पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गर्ने व्रतालु शिवो देवी यादवले बताइन्। (न्युजकारखाना)

त्यस्तै, आइतबार सन्ध्याकालीन र सोमबार  प्रभातकालीन सूर्यको अर्घदिएपछि चार दिवसीय छठ पर्व विधिवत् रूपमा समापन हुनेछ। पर्वको मुख्य दिन मानिने षष्टि तिथिका दिन बिहानै न्वाई-धुवाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझमा अस्ताउँदै गरेका सूर्यलाई अर्घ्य दिने गरिन्छ। त्यस्तै, सप्तमीका दिन बिहान उदाउँदै गरेका सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानी अपनाउनु पर्छ। यस पर्वमा ढिकी-जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ तथा चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्टान परिकार, माटोको भाडामा जमाइएको दही, उखु, मौसम अनुसारका फलफूल, कोसिया कुरवारलगायतका पूजा सामग्रीहरूले सूर्यलाई अर्घ्य दिने प्रचलन रहेको व्रतालु बताउँछन्।

 

प्रकाशित: १२ कार्तिक २०७९ ४:५९ | Saturday, October 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast