फाइल तस्बिर।
                                            काठमाडौँ– राप्रपा नेपाल केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षहरूको संयुक्त विस्तातित बैठक मंगलबार (आज) काठमाडौँमा बस्ने भएको छ। बैठकमा पार्टी अध्यक्ष कमल थापाले ‘वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना’ विषयमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन्।
महामन्त्रीहरू भाष्कर भद्रा, सुशील श्रेष्ठ ,राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय , प्रशिक्षण ,संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएकोले बीचको प्रदेशको संरचना खारेज गर्नुपर्नेबारे केन्द्रीय समितिमा छलफल हुने पनि उनले बताए।
प्रदेश संरचना खारेज गर्नुपर्ने माग राख्ने पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनु पर्नेमा बैठकले निर्णय लिन सक्ने उनले जनाए। बैठकमा जनवर्गीय संगठन, विभाग र समितिहरूको ६ महिने कार्ययोजनाहरू पनि प्रस्तुत हुनेछ। बैठक बुधबार (भोलि)सम्म चल्नेछ।

                                             
                                             
                                             
                                             
                                             
                                             

