पहिरोले घरविहीन मुगुबासी त्रिपालमुनि कठ्यांग्रिँदै

हिमाल प्रेस १७ मंसिर २०७९ १५:२५
4
SHARES
पहिरोले घरविहीन मुगुबासी त्रिपालमुनि कठ्यांग्रिँदै मुगुका बाढी पहिरोपीडित। फाइल तस्बिर

मुगु– चिसो बढ्दै गएपछि मुगुको छायाँनाथ रारा नगरपालिका-११ का पहिरोपीडितको बिचल्ली भएको छ। गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो।

पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्। बाढीपहिरोबाट विस्थापित छायाँनाथ रारा नगरपालिकाका चार गाउँका बासिन्दा गाउँनजिकैको जंगलमा त्रिपाल हालेर बसेका छन्।

‘चिसो निकै बढ्यो, त्रिपालमुनि बास बस्न सकिने अवस्था छैन,’ पीडित शेरसिंह भर्गीले भने, ‘गाउँमा घर पहिरोले पुरियो, त्रिपालमुनि बस्नुबाहेक अर्को विकल्प छैन। अब बस्न कता जाने होला!’

त्रिपालभित्रको बसाइँ कष्टकर बनेको पीडित परिवारले बताएका छन्। बाढी पहिरोबाट झयारी, सिगाडी, घुइर, तल्लो सालिमलगायत बस्तीमा ठूलो संख्यामा स्थानीयवासी विस्थापित भएका छन्।

प्रभावित क्षेत्रका बासिन्दालाई सरकारले राहत र पुनःस्थापनाका लागि कुनै पहल नगरेको उनीहरूले बताएका छन्।

‘जाडोले बिरामी परिने डर छ, बालबालिकालाई जोगाउन गाह्रो भएको छ,’ त्रिपालमुनि बस्दै आएकी बालिकन्या बोहराले भनिन्, ‘न्यानो कपडासमेत छैन, कहिँकतैबाट सहयोग पाइएको छैन।’

चिसो मौसम सुरुभएसँगै सालीमका ६२ परिवार सबैभन्दा बढी समस्यामा छन्। छायाँनाथ रारा-११ तल्लो सालीमा, वडा ८ झ्यारी र सिगाडी तथा वडा ७ घुइरका स्थानीय घर पहिरोले पुरिएपछि अहिले त्रिपालभित्र कष्टकर दैनिकी बिताउन बाध्य छन्।

जाडोका कारण उनीहरूमा आँखा पाक्ने, पेट दुःख्ने, टाउको दुःख्नेलगायत समस्या देखा परेको स्थानीयवासी बेलधरा कुमाइले बताए।

असोजमा गएको पहिरोका कारण छायाँनाथ रारा नगरपालिका साथै सोरु र खत्याड गाउँपालिकाका विभिन्न बस्तीमा स्थानीय बिस्थापित भएका थिए।

विद्यार्थीको पठन-पाठनमा समस्या भएको स्थानीयले बताएका छन्। पहिरोमा पुरिएर सालिमा गाउँका आठ जनाको ज्यान गएको थियो। नवनिर्वाचित संघीय सांसद ऐन शाही र प्रदेशसभा सदस्य जित मल्लले पहिरोबाट बिस्थापित परिवारको राहत तथा पुनःस्थापानका लागि पहल गर्ने बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast