काठमाडौँ- सत्तारुढ गठबन्धनको १० दलको बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ। आज दिउँसो सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र) का सचेतक हितराज पाण्डेले नीति तथा कार्यक्रमाथि छलफल केन्द्रित रहेको बताए।
‘नीति तथा कार्यक्रमलाई कसरी अघि बढाउने र त्यसमा के विषय फोकस गर्ने भएको कारणले नेताहरूले त्यतैतिर केन्द्रित गर्नुभएको छ,’ उनले सञ्चारकर्मीसँग भने। उनले नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने सुझाव दिइएको बताए।
‘सबैले कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव दियौ। कार्यक्रम कस्तो सोचका साथ अघि बढेको छ भन्ने कुरा ब्रिफिङ भयो,’ उनले भने, ‘कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने, जनशक्ति पलायन कसरी रोक्ने र शैक्षिक क्षेत्रमा विध्यार्थी पलायन कसरी रोक्ने भन्ने विषयमा छलफल भयो।’
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति कार्यक्रमका विषयमा केही नेताहरूले धारणा राखेको र बाँकी रहेकाहरूले समय नभएकाले लेखेर दिन भनिएको जानकारी दिए। सरकारले नीति तथा कार्यक्रमय यही जेठ ५ गते प्रस्तुत गर्दै छ।