काठमाडौँ- राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले कृषि मन्त्रालय खारेज गर्न माग गरेका छन्। बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले कृषि क्षेत्रमा मन्त्रालयले आवश्यकताअनुसार काम गर्न नसकेको भन्दै मन्त्रालय विघटन गर्न माग गरेका हुन्।
८५ प्रतिशत तकारी आयात गर्नुपर्ने र खाद्यान्न पनि ठूलो मात्रामा विदेशबाट आयात गर्नुपर्ने स्थिति रहेको तर मन्त्रालयले उत्पादन क्षेत्रमा काम गर्न नसकेको उनको भनाइ थियो।
तरकारी र खाद्यान्न क्षेत्रमा काम गर्न नसक्ने मन्त्रालयको आवश्यक्ता नरहेको उनको जिकिर थियो। ‘आवश्यक कामको पूर्ति गर्न नसक्ने हो भने मन्त्रालय बनाइरहनुको कुनै औचित्य हुँदैन,’ उनले भने, ‘कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्रीहरू परिवर्तन भइरहने मन्त्रालय मात्रै भयो।’
किसानलाई बालीनालीका लागि असारमा चाहिने मल बाली पाक्ने बेलामा ल्याउनुको औचित्य मन्त्रालयले पुष्टि गर्न सक्नुपर्ने उनको भनाइ थियो। ‘कृषि मन्त्रालयको विघटन गर्नुपर्ने जस्तो देखेँ मैले, तरकारी पनि ८५ बाहिरबाट ल्याउनुपर्ने, खाद्यान्न पनि बाहिरबाट ल्याउने हो भने यो मन्त्रालयको के काम?’ उनले भने, ‘जे कामका लागि यो मन्त्रालय हामीलाई चाहिने हो, त्यो नहुने भएपछि के को लागि यो मन्त्रालय बनाइराख्ने?’
कृषि मन्त्रालय सबैभन्दा धेरै मन्त्री परिवर्तन हुने मन्त्रालय बनेको र अहिलेको प्रधानमन्त्रीकै नेतृत्वमा पनि मन्त्री धेरै परिवर्तन भइसकेका उनको भनाइ थियो। ‘हामीलाई ६ लाख मेट्रिक टन मल चाहिन्छ, तर हामी ४ लाख मेट्रिक्टन मगाइराखेका छौँ,’ उनले भने, ‘त्यसमा पनि सबै आएको छैन, हामी पाक्ने बेलामा ल्याउँछौँ, साउन भदौमा ल्याउने हो भने त्यसको के महत्व भयो?’

                                             
                                             
                                             
                                             
                                             
                                             

