शिक्षक-कर्मचारीलाई वैशाख २९ को विरोध प्रदर्शनमा सहभागी हुन १४ वटा संघसंस्थाको अपिल

हिमाल प्रेस २७ वैशाख २०८० १८:४२ | Wednesday, May 10, 2023
शिक्षक-कर्मचारीलाई वैशाख २९ को विरोध प्रदर्शनमा सहभागी हुन १४ वटा संघसंस्थाको अपिल फाइल तस्बिर

काठमाडौँ– सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीसँग सम्बन्धित १४ वटा संघसंगठनले वैशाख २९ गते शुक्रबार काठमाडौँमा आयोजना गरिने विरोध प्रदर्शनमा सहभागी हुन अपिल गरेका छन्।

शिक्षक र कर्मचारीका पेसागत मागबारे सरकारलाई दबाब दिन ती संघसंगठनले शुक्रबार माइतीघरमा विरोधका कार्यक्रम तय गरेका छन्।

नयाँ संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, आगामी बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकहरूलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलबभत्ता दिनुपर्ने माग शिक्षक महासंघले अघि सार्दै आएको छ।

यस्तै शिक्षा क्षेत्रको लगानी कुल बजेटको २० प्रतिशत गराउनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारीसरह गराउनुपर्ने माग महासंघको छ।

शिक्षक कर्मचारीको तलबभत्ता सःसर्त अनुदान शीर्षकअन्तर्गत पठाउने र उक्त तलब निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्गाको नेतृत्वमा बसेर काम गरेको शिक्षकको टुटेको सेवा अवधि जोडेर नियमानुसार सेवासुविधा दिनुपर्ने माग राखेको छ।

‘यी जायज माग तत्काल पूरा गराउने उद्देश्यसहित गरिएको माइतीघर मण्डलाको विरोध प्रदर्शनमा सक्रिय सहभागी भई त्यसलाई श्रव्य र फलदायी बनाउन देशभरिका स्थायी, अस्थायी/करार, रातह, बालकक्ष, साविक उच्चमावि, शिक्षण सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा, संस्थागत विद्यालय शिक्षक लगायत सबै खाले शिक्षक र विद्यालय कमएचारी साथीहरू अपिल गर्दछौँ’, अपिलमा उल्लेख छ।

अपिलमा नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक र अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभाइ कार्कीले हस्ताक्षर गरेका छन्।

यसैगरी अपिलमा राष्ट्रिय शिक्षक मञ्चका अध्यक्ष कुमोदकुमार सिंह, संघीय शिक्षक फोरम नेपालका अध्यक्ष चुल्हाई राय यादव, मधेशी शिक्षक फोरम लोकतान्त्रिकका अध्यक्ष विष्णुकुमार चौधरी, नेपाल राष्ट्रिय शिक्षक परिषद्का अध्यक्ष यादवराज पाण्डेयले हस्ताक्षर गरेका छन्।

अपिलमा हस्ताक्षर गर्ने अन्य संघसंस्थाका अध्यक्षहरूमा लोकतान्त्रिक शिक्षक युनियनका अतुलकुमार लाल, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्चका रमाकान्त चौधरी, अखिल नेपाल राष्टिन्य शिक्षक संगठनका विजयरत्न बज्राचार्य, संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापा र नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी छन्।

प्रकाशित: २७ वैशाख २०८० १८:४२ | Wednesday, May 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast