अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सुध्रिन जरुरी छ : विनोद चौधरी

हिमाल प्रेस २४ वैशाख २०८० १५:५६
2
SHARE
अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सुध्रिन जरुरी छ : विनोद चौधरी

काठमाडौँ- प्रतिनिधिसभा सांसद विनोद चौधरीले नेपालको अर्थतन्त्र थप बिग्रनुअघि राजनीति सुध्रिन जरुरी रहेको बताएका छन्। राजनीतिक प्रणाली तत्काल नसुध्रिए अर्थतन्त्र थप धराशयी बन्दै जाने उनले बताएका हुन्।

आइतबार काठमाडौँमा आयोजित ‘नेपाल बिजनेस समिट २०२३’मा उनले अर्थतन्त्र थप बिग्रन नदिन राजनीतिक चरित्र सुध्रिन आवश्यक रहेको बताए। ‘अर्थतन्त्रको यस गम्भीर अवस्थामा पनि हाम्रो राजनीति सत्ताको भागबण्डा, प्रशासनिक हेरफेर र आफन्तको नियुक्तिबाट बाहिर निस्कन सकेको छैन,’ उनले भने, ‘अर्थतन्त्रलाई राजनीतिको केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने जिम्मेवारीलाई राजनीतिले आत्मसाथ गर्न सकेको छैन।’

राजनीतिक दलहरूले राष्ट्रिय अर्थतन्त्रको एजेन्डामा गम्भीर भएर एउटा बैठक पनि नबोलाएको उनको आरोप थियो। ‘अर्थतन्त्रमा अरू धेरै कुरा बिग्रनु अघि हामी सच्चिन जरुरी छ,’ उनले भने, ‘राजनीति सच्चिन जरुरी छ।’ नेपालको अर्थतन्त्र समस्याको सूचीमै रहेको र यसलाई तथ्यांकले प्रमाणित गर्दै लगे पनि आशा गर्ने ठाउँ बाँकी रहेको चौधरीको भनाइ छ।

विकास निर्माणले गति लिन नसक्दा त्यसको बहुआयामिक असर मुलुकको अर्थतन्त्रमा देखिएको चौधरीको भनाइ थियो। संघीय सरकारले मात्र नभइ प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्च गर्न नसक्नु चिन्ताको विषय रहेको उनले औँलयाए।

‘हामीले विकास निर्माणको प्रक्रियालाई ट्र्याकमा ल्याउन सकिरहेका छैनौँ। विकास निर्माणका गतिविधि समयमै सकेको भए कमजोर राजस्व संकलन र आर्थिक वृद्धिदरको अवस्था सामना गर्नुपर्ने थिएन,’ उनले भने, ‘प्रदेशको पुँजीगत खर्च हालसम्म करिब ३० प्रतिशत बराबर मात्रै छ। राजनीतिक स्थिरता, सुशासन र आर्थिक विकासमा केही योगदान गर्न नसक्ने तर नागरिकको टाउकोमा राजस्वको भार मात्रै थप्ने हो भने पक्कै पनि प्रदेश सरकारमाथि प्रश्न उठ्नेछ।’

दुई ठूला छिमेकी मुलुक भारत र चीन विश्वका उदयीमान अर्थतन्त्रका रूपमा देखापरेकाले नेपालले पनि त्यसको लाभ लिनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २४ वैशाख २०८० १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =