कहाँ गए टोपबहादुर? प्रहरी भन्छ- पीएसओ र गाडी काठमाडौँ आइपुगे, उहाँ बेपत्ता

हिमाल प्रेस २२ वैशाख २०८० १५:५९
800
SHARES
कहाँ गए टोपबहादुर? प्रहरी भन्छ- पीएसओ र गाडी काठमाडौँ आइपुगे, उहाँ बेपत्ता टोपबहादुर रायमाझी

काठमाडौँ- नेपालीलाई नक्कली शरणार्थी बनाउने गिरोहको संरक्षकको रुपमा देखिएका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीलाई प्रहरीले खोजीरहेको छ। उनीविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएपछि काठमाडौँ फर्किने तयारीमा रहेका उनी एकाएक बेपत्ता भए। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ।

बुधबार साँझ भैरहवाबाट काठमाडौँ आउने टिकट काटेर पनि रद्ध गरेका रायमाझी सडकमार्ग हुँदै फर्किने तयारी गरेका थिए। उनी अर्घाखाँचीबाट प्रदेश-३-०१-०२२ च ०५८२ नम्बरको गाडीमा आएका थिए। उनले प्रयोग गर्दै आएको यो गाडी काठमाडौँ आइपुगे पनि उनी भने बेपत्ता छन्।

‘उहाँले पीएसओ र गाडीलाई काठमाडौँ पठाएर आफू उतै झर्नु भएछ,’ नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले भने, ‘अहिले कता हुनुहुन्छ के हुनुहुन्छ थाहा छैन बेपत्ता नै हुनुहुन्छ। प्रहरीले खोजी जारी राखेको छ।’

रायमाझी बिहीबार दिउँसो आफैँ प्रहरीसमक्ष उपस्थित हुने खबर प्रहरीलाई आएको थियो। तर उनी नआएपछि अहिले प्रहरीले खोजी तीव्र बढाएको छ।

सोही प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उनलाई काठमाडौँ प्रहरी परिसरले उनलाई बुधबार पक्राउ गरेको हो। पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ।

पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव थिए। यसअघि मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए।

यसैगरी केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल सोही प्रकरणमा पक्राउ परिसकेका छन्। उनीहरूकै बयानका आधारमा राई र पाण्डे प्रक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेका सबैविरुद्ध प्रहरीले संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान जारी रहेको जनाएको छ। इन्द्रजित राईका छोरा निरज र पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। उनीहरूलाई पनि प्रहरीले खोजी जारी राखेको बताएको छ।

प्रकाशित: २२ वैशाख २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast