अब धरान आउने भयो कोकाहा खोलाको पानी

हिमाल प्रेस १७ वैशाख २०८० ७:०४ | Sunday, April 30, 2023
अब धरान आउने भयो कोकाहा खोलाको पानी

इटहरी- धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाबीच लिखित सहमति भएपछि कोकाहा खोलाको पानी धरान ल्याउन दिइने भएको छ।

जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको उपस्थितिमा धरानका नगर प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्रविक्रम बेघा, बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की तथा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराईको उपस्थितिमा छलफल भएको हो।

छलफलमा २ दिनभित्र लिखित सहमति गर्ने गरी दुवै पालिकाले दुई सदस्यीय कार्यदल बनाएर सम्झौता गर्ने बराहका नगर प्रमुख कार्कीले जानकारी दिए। उनले आफ्ना जनतालाई पानी खुवाउन बराह नगरपालिका सक्षम रहेको भन्दै धरान पानी लाने क्रममा बराहको भूमि प्रयोग गरी गरिने कार्यका कारण हुने वातावरणीय प्रभावको धरान उपमहानगरपालिका जिम्मेवार हुनुपर्ने बताए।

उनका अनुसार लिखित सम्झौतामा बराहले ४ वटा मुख्य माग राखेको छ। जसमा धरान उपमहानगरको कार्यपालिकाबाट खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय, धरान खानेपानी बोर्डको संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्या‌ंकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।

यस्तै बराहक्षेत्रलाई निश्चित कर दिनुपर्ने ग्यारेन्टीसहितको लिखित सहमति गरिएको कार्कीले बताए। धरानका मेयर साम्पाङ भने पछिल्लो केही दिनयता इटहरी र बराहक्षेत्रका मेयरहरूसँग विवादित बन्दै आएका छन्।

प्रकाशित: १७ वैशाख २०८० ७:०४ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast