काठमाडौँ- काठमाडौँको भूगोलपार्कमा आमरण अनशनमा रहेका नुवाकोट ककनीका श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।
कृषक परिचयपत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बिउ, विषादी कृषियन्त्र पूर्ण रूपमा अनुदान उपलब्ध गराउनलगायत किसानसँग सम्बन्धित विभिन्न माग राखी घिमिरे वैशाख ५ गतेदेखि अनशनमा छन्।
आयोगका प्रतिनिधिले अनशनस्थल पुगेर घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। स्वास्थ्य परीक्षण गराउँदा निजको शरीरमा ग्लुकोज र अक्सिजनको मात्रा कम भई स्वास्थ्य अवस्था जटिल बन्दै गएको आयोगले जनाएको छ।
अनशनरत घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, सार्थक वार्ताका माध्यमबाट तत्काल समस्याको समाधान गर्न, किसानको अधिकारका सम्बन्धमा आयोगबाट विगतमा गरिएका सिफारिसहरुको कार्यान्वयन गर्न आयोगले सरकारलाई आग्रह गरेको छ। आयोगले आफ्ना माग राख्दा आमरण अनशनजस्तो कठोर बाटो नरोज्नसमेत घिमिरेलाई आग्रह गरेको छ।