सञ्जयले जिते ‘एनसेल बाह्रखरी गल्फ’मा सुनको बल

हिमाल प्रेस ९ वैशाख २०८० २१:०३ | Saturday, April 22, 2023
सञ्जयले जिते ‘एनसेल बाह्रखरी गल्फ’मा सुनको बल

काठमाडौँ- शनिबार भएको ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन्। बाह्रखरी मिडियाले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताको यस वर्षका विजेता सञ्जयले सुनको बल पुरस्कार जितेका छन्।

काठमाडौँको गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले ‘टी–अफ’ गरेर उद्घाटन गरेका थिए। १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए। १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रन्ट नाइनमा १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोडेका थिए।

उपाधि जित्ने सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए। सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासीलाई उपाधिबाट पन्छाउन सफल भए। टासी छिरिङले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भए।

यससँगै जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते। टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन्। टासीले ६ बर्डी प्रहार गरेका थिए।

पुरुषतर्फ बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे। बाबुले ३८ अंक जोडेका थिए। प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियर (६० वर्षमाथि)तर्फको उपाधि जिते।

महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन्। उनले ३६ अंक जोडेकी थिइन्। कश्मिरा शाह दोस्रो भइन्। कश्मिराले ३३ अंक जोडेकी थिइन्। क्लोजेस्ट टु द पिनको उपाधि राज प्रधानले जिते। दशौँ होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा ‘हुन्डे’ को ‘भेन्यू’ गाडी जित्न राज दुई इञ्चले चुकेका थिए। लङ्गेस्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते। उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए।

प्रतियोगितामा विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा ७ महिला र १०७ पुरुष गल्फरको सहभागिता थियो। गल्फ खेल र यसका खेलाडीलाई देशको आर्थिक मुद्दामा सम्मिलित गराउने उद्देश्यसहित बाह्रखरी मिडियाले विगत ६ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ। यो वर्ष बाह्रखरी गल्फसँगै आर्थिक परिसंवाद कार्यक्रम पनि आयोजना गरिएको थियो।

प्रकाशित: ९ वैशाख २०८० २१:०३ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast