अल्पमतको अप्ठेरोबीच विश्‍वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

हिमाल प्रेस ९ वैशाख २०८० १५:३१ | Saturday, April 22, 2023
अल्पमतको अप्ठेरोबीच विश्‍वासको मत लिने तयारीमा गण्डकीका मुख्यमन्त्री

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन्। प्रदेशसभाको शनिबार दिउँसो ३ बजे बस्ने दोस्रो अधिवेशनअन्तर्गत पहिलो बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव समेटिएको छ।

प्रदेशसभा सचिव हरिराज पोखरेलका अनुसार बैठकको सुरुवातमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पठाएको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाइनेछ। त्यसपछि गण्डकी प्रदेश, प्रदेशसभा नियमावली मस्र्यादा समितिको कार्यअवधि थप गर्नसभामुखले प्रस्ताव प्रस्तुत गर्ने छन्। त्यसपछि मुख्यमन्त्री अधिकारीले नेपालको संविधान १८८ (२) बमोजिम प्रदेशसभाका विश्वासका मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने छन्।

उनले प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम आफ्नो वक्तव्यसहिकत प्रस्ताव पेस गर्ने कार्यसूचीमा छ। उनको प्रस्तावमाथि छलफलपछि निर्णयार्थ प्रस्तुत हुनेछ। आफूलाई विश्वासको मत मिल्ने सम्भावना नहुँदा-नहुँदै पनि मुख्यमन्त्रीले संवैधानिक व्यवस्थाबमोजिम आफूले संसद फेस गरेको शुक्रबार पत्रकारसमक्ष बताएका थिए।

गत २५ पुसमा मुख्यमन्त्री नियुक्त अधिकारीलाई सत्ताधारी माओवादी केन्द्रले साथ छोडेपछि २९ औं दिनको दिन विश्वासको मत लिन लागेका हुन्। अल्पमतका परेको एमाले सरकार टिकाइराख्न सरकारको समर्थन गुमेको ३० औं दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

एमाले संसदीय दलका नेता अधिकारलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम गण्डकीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। विगतमा १२ मन्त्रालय रहेको गण्डकीमा अधिकारी सरकारले घटाएर ७ मन्त्रालय बनाएर चर्चामा रहे पनि १०० दिनको अवधिमा सरकारले खास उपलब्धिमूलक भने गर्न नसकेको टिप्पणी छ। ४ मंसिरको चुनावबाट ६० सदस्यीय प्रदेशसभामा ३६ सिट प्रत्यक्ष तथा २४ सिट समानुपातिक निर्वाचन प्रणालीबाट सदस्य चुनिएका थिए।

जसमध्ये कांग्रेस २७ सिटसहित सबैभन्दा ठूलो पार्टी हो। एमालेका २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सांसद छन्। बहुमतका लागि ३१ सिट आवश्यक पर्छ।

प्रकाशित: ९ वैशाख २०८० १५:३१ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast