ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगर्नु होला : रवि लामिछाने

हिमाल प्रेस ४ वैशाख २०८० १६:२३ | Monday, April 17, 2023
ड्राइभर छतबाट खसेको घटनालाई राजनीतिकरण नगर्नु होला : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सवारी चालक छतबाट खसेको घटनालाई राजनीतिकरण नगरिदिन आग्रह गरेका छन्।
आज सोमबार दिउँसो फेसबुकमा स्टाटस लेखेर लामिछानेले सबैले घाइते दिलबहादुर थापा (शम्भु)को स्वास्थ्य लाभको कामना गर्न अनुरोध गरेका हुन्।

‘आज बिहान प्रिय शम्भु भाइ(मेरो गाडी चालक) छत बाट खसेर दुर्घटनामा पर्नु भयो। (पुरानो मेडिकल कलेज) मा उहाँ उपचाररत हुनुहुन्छ। बिहानैदेखि निरन्तर र भरखरै पनि मैले चिकित्सकसँग परामर्श गरे अनुसार भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारीएको छ,स्थिर छ,’ उनले भनेका छन्, ‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला योभन्दा धेरै मसँग तपाईंलाई भन्ने कुनै शब्दै छैन। म नेताभन्दा पहिले मानिस हुँ। म पनि थाक्छु, गल्छु। मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला।’

उनले राजनीतिका लागि सिंगो जीवन नै बाँकी रहेको बताउँदै संवेदनशील घडीमा मौका नछोप्न पनि भनेका छन्। ‘सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला। मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ,’ उनले भने, ‘उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला।’

रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

 

प्रकाशित: ४ वैशाख २०८० १६:२३ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast